logo-img

निर्वाचन आचारसंहिताविपरीत रतुवामाईका मेयर राई कांग्रेसको चुनावी प्रचारमा

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितअनुसार स्थानीय कार्यपालिका र सोका सदस्यलाई पनि कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष तथा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचार गर्न रोक लगाएको छ । 

त्यस्तै, आचारसंहिताले राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको बैठक, सभा, कार्यशाला गोष्ठी, सम्मेलन, अन्तरक्रियाजस्ता कार्यक्रममा भाग लिन नहुने भनेको छ ।

तर, मोरङको रतुवामाई नगरपालिकाका मेयर रविन राई भने सरकारी स्रोत, सधान र सम्पत्तिको दुरुपयोग गरि निर्वाचन आचारसंहिताको धज्जी उडाइरहेका छन् । 

उनले नगरपालिका स्रोत, साधन र गाडीसमेत दुरुपयोग गर्दै नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा मत माग्दै चुनावी प्रचारमा हिँडेको पाइएको हो । 

उनी यतिबेला नेपाली कांग्रेस र सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्दै चुनावी प्रचारमा हिँड्ने मात्र नभई विभिन्न स्थानमा आयोजना गरिएको चुनावीसभामा भाषणसमेत गर्दै हिँडिरहेका हुन् । 



मेयर राईले हालसम्म पदबाट राजीनामा दिएका छैनन् । निर्वाचन आचारसंहिता बमोजिम बहालवाला मेयरले कुनै पनि दल तथा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार गर्न पाउँदैनन् । तर, उनले निर्वाचन आयोगलाई नै चुनौती दिँदै कांग्रेसका लागि पदको दुरुपयोग गरिरहेको स्थानीयले बताएका छन् । 

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पार्टीको चुनावी प्रचारमा हिँड्नुपर्ने भएकाले नैतिकता देखाउँदै राजीनामा दिएका थिए । तर, रतुवामाईका मेयर राई भने आचारसंहिता विपरीतका गतिविधिमा सक्रिय रहेको स्थानीयको भनाइ छ ।



उनी २०७४ सालमा कांग्रेसका तर्फबाट मेयरमा निर्वाचित भएका थिए । यसपटक पनि उनी मेयरका आकांक्षी थिए । तर, उनले टिकट पाएनन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय रतुवामाईका प्रमुख निर्वाचन अधिकृत राजु अधिकारीले मेयरले कुनै पनि दल विशेषको चुनावी प्रचारमा सहभागी हुन नपाउने भएकाले त्यसो गरेको पाइएमा कारबाही हुने बताए ।

‘कार्यपालिका प्रमुख र  सदस्यलाई पनि आचारसंहिता लागू हुन्छ । उम्मेदवार र दलको प्रचारमा हिँड्न पाइँदैन’ उनले भने,‘मेयरले आचारसंहिता उल्लंघन गरे कारबाही हुने व्यवस्था छ ।’ 

प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कस्यप अधिकारीले मेयर राईले आचारसंहिता विपरीतको कार्य गरेको खण्डमा कारबाहीको भागिदार बन्ने बताए । ‘हामी तत्काल सचेत गराउँछौँ’ उनले भने, ‘त्यहाँको मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत प्रक्रिया अघि बढ्छ ।’ 

केही दिन अघि मेयर राईकै निर्देशनमा आचारसंहिता विपरीत कांग्रेस उम्मेदवारको पक्षमा मत माग्दै उपभोक्ता समिति गठन गरेर रतुवामाई–५ स्थित लेटीमा गिटी झारिएको थियो । विवाद भएपछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लम्सालले  उक्त काम रोक्का गरिदिएका थिए ।

  • प्रकाशित मिति : वैशाख २०, २०७९ मंगलबार १७:४१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया