logo-img

स्थानीय तह निर्वाचन : ६४ प्रतिशत मत खस्यो, ४४ केन्द्रमा मतदान पुनः हुने

निर्वाचन आयोगले १४ जिल्लाका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको जनाएको छ । दलहरूको आपसी विवाद र झडपका कारण १४ जिल्लाका १७ वटा स्थानीय तहका २८ वटा मतदान स्थलका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । 

राजनीतिक दल तथा उम्मेदवारका बीचमा भएको आपसी विवाद, अन्य सानातिना विषयमा पनि विवाद झाँगिदै जाने र अन्त्यमा त्यसले उग्र रुप लिँदा ति ठाउँमा मतदान स्थगित गरिएको उनको भनाइ छ । 

झडपको अवस्था आएपछि केही स्थानमा प्रहरीद्वारा बल प्रयोग गर्नुपर्ने अवस्था आएको उनको भनाई छ । आज मौसम खराबीका कारण पनि केही स्थानीय तहमा ठूलो वर्षाका कारणले सबै मतदाताले सहभागी हुन नसकेको स्थितिकाबीच सम्बन्धित निर्वाचन अधिकृतले मतदान स्थगन गरेको उनको भनाई छ । 
 
स्थगन गरिएको स्थानमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय र आयोगसँग समन्वय गरेर त्यहाँको वस्तुस्थिति समेतको आधारमा छिट्टै पुनः मतदानको प्रक्रिया अघि बढाइने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । 

प्रकृतिको अप्ठ्यारोको कारण केही हिमाली जिल्लाहरु, दुर्गम जिल्लाहरु, आवागमनमा अप्ठ्यारो भएका जिल्लाहरुमा हेलिकोप्टरको माध्यमबाट भोलि ने मतपेटिका ओसार्ने गरी आवश्यक व्यवस्था मिलाइएको उनको भनाइ छ । 

आयोगले दुई ठाउँबाट निर्वाचनको अनुगमन गरेको थियो । नियोगद्वारा सञ्चालित कल सेन्टर र निर्वाचन आयोगमा पहिलादेखि नै स्थापना भएको संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त विवरणको आधारमा ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान उनले गरे ।  

निर्वाचन आयोगले अपेक्षा गरेअनुसार मतदान नभएको उनको भनाइ छ । विभिन्न कारणले गर्दा अपेक्षाअनुसार मतदान नभएको उनको भनाइ छ । 



अत्यन्तै सहज पहुँच र सुविधा रहेको काठमाडौं महानगरमा पनि करिब ५२ प्रतिशत मतदान भएको देखिएको छ भने अन्य क्षेत्रमा पनि यसकै हाराहारीमा मतदान भएको देखिएको उनको भनाइ छ । 



  • प्रकाशित मिति : वैशाख ३०, २०७९ शुक्रबार २२:४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया