बझाङमा ९ वडाको नतिजा सार्वजनिक, दललाई कडा टक्कर दिँदै स्वतन्त्र उम्मेदवार

शुक्रबार भएको स्थानीय तहको मतदानको परिणाम आउन थालेको छ । केही जिल्लाको सम्पूर्ण परिणाम आउँदा केहीमा भने गणना नै सुरु भएको छैन । बझाङमा पनि चार स्थानीय तहको मतगणना सुरु हुन सकेको छैन ।

मतदानका क्रममा दलका प्रतिनिधिहरूबीच विवाद हुँदा जिल्लाको जयपृथ्वी नगरपालिका, छबिसपाथिभेरा, केदारस्यूँ र सुर्मा गाउँपालिकाको मतगणना सुरु हुन नसकेको हो । बाँकी आठ पालिकामा भने मतगणना जारी छ । 

गणना सुरु भएका पालिकाको वडाको अन्तिम परिणाम पनि आउन थालेको छ । शनिबार राति साढे ८ बजेसम्म जिल्लामा नेकपा माओवादी केन्द्र, नेकपा एमाले, एकीकृत समाजवादी, स्वतन्त्र उम्मेदवारले दुई/दुई र नेपाली कांग्रेसले एक वडामा जित हात पारेका छन् । 

अहिलेसम्म जिल्लाको थलारा गाउँपालिका–९ मा गठबन्धनबाट चुनाव लडेका नेकपा एकीकृत समाजवादीका वडाध्यक्षसहित प्यानल विजयी भएको छ । यहाँ वडाध्यक्षमा लोकेन्द्रबहादुर विष्ट ४८७ मत ल्याए निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका हिरा भण्डारीले ४२८ मत ल्याए । चारजना वडा सदस्य पनि गठबन्धनकै निर्वाचित भएका छन् ।

जिल्लाको मष्टा गाउँपालिका–१ मा नेकपा माओवादी केन्द्रका रामचन्द्र रोकायाको प्यानलसहित विजयी भएको छ । गठबन्धनबाट चुनाव लडेका रोकाया ६३६ मतका साथ वडाध्यक्षमा विजयी भए । उनका प्रतिद्वन्दी एमालेका राजेन्द्र थापाले ४९३ मत मात्रै ल्याए । निर्वाचित चारजना वडा सदस्य पनि गठबन्धनबाटै चुनाव लडेका थिए ।

जिल्लाको बुंगल नगरपालिका–५ मा भने वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । पुतली चिन्हबाट चुनाव लडेका निराजन कुँवर (दिपक) ६०३ मतका साथ विजयी भएका हुन् । उनका प्रतिद्धन्द्वी नेकपा एमालेका प्रयागराज धामीले २७० मत प्राप्त गरे । गठबन्धनका नन्दबहादुर धामी ३३ मत मात्रै पाए । 



बुंगल नगरपालिका–६ मा पनि स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । वडा नं. ६ मा राम देवार ६ सय २९ मतका साथ विजयी भए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हिम्मतराज लुहारले ४ सय २१ र गठबन्धनका साझा उम्मेदवार ज्ञानेन्द्र सिंहले ३ सय ६२ मत प्राप्त गरे । 

खप्तडछान्ना गाउँपालिका–१ मा एकीकृत समाजवादीको प्यानल नै विजयी भएको छ । गठबन्धनका साझा उम्मेदवार रहेका देवीभक्त जोशी ४४० मतका साथ वडाध्यक्षमा विजयी भए । उनका प्रतिद्वन्द्वी एमालेका सुरेश खत्रीले २३८ प्राप्त गरे । चारजना वडा सदस्य पनि गठबन्धनकै निर्वाचित भएका छन् ।



जिल्लाको बित्थडचिर गाउँपालिका–१ मा भने नेपाली कांग्रेसले जित हासिल गरेको छ । एमालेका उम्मेदवार टेक बोहरालाई १७९ मतले पराजित गर्दै कांग्रेसका मानबहादुर बोहरा वडाध्यक्षमा विजयी भएका हुन् । मानबहादुरले ५२४ र टेकबहादुरले ३४५ मत प्राप्त गरे ।  

माओवादीका उम्मेदवार देव बोहराले २५५ मत मात्रै ल्याए ।  त्यस्तै, थलारा गाउँपालिका–१ मा माओवादी केन्द्रका रवीन्द्र जोशीसहित प्यानल नै विजयी भएको छ । उनी नेकपा एमालेका कृष्ण जोशीलाई ८० मतले हराउँदै वडाध्यक्षमा विजयी भए । वडाध्यक्षमा विजयी रवीन्द्रले ३६० मत ल्याए । चारजना वडा सदस्य पनि गठबन्धनबाटै प्रतिस्पर्धामा थिए ।

साइपाल गाउँपालिका–१ मा भने नेकपा एमालेका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । एमालेबाट नरेन्द्र धामी १५५ मत ल्याउँदै वडाध्यक्षमा विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी साउने धामीले १३० मतमा चित्त बझाए । थलारा गाउँपालिका–२ मा पनि एमालेका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् । 

यहाँ एमालेका रवीन्द्र खातीको प्यानलसहित विजयी भएको हो । उनले गठबन्धनका उम्मेदवार इन्द्र खाती र स्वतन्त्र उम्मेदवार लक्ष्मण खड्कालाई हराउँदै वडाध्यक्षमा बाजी मारे । वडाध्यक्षमा विजयी खातीले ३६४ मत ल्याए । उनका प्रतिद्वन्द्वी गठबन्धनका इन्द्र खातीले २११ र स्वतन्त्र उम्मेदवार लक्ष्मण खड्काले १०७ मत प्राप्त गरे । जिल्लामा कुल ९४ वडा रहेका छन् । 

  • प्रकाशित मिति : वैशाख ३१, २०७९ शनिबार २०:५५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया