logo-img

गठबन्धनलाई हराउँदै टीकापुरको मेयरमा रेशम चौधरीको पार्टीका डगौरा निर्वाचित

कैलालीको टीकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ती पार्टीका उम्मेदवार रामलाल डगौरा थारू विजयी भएका छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नवराज रावललाई हराउँदै उनी मेयरमा विजयी भएका हुन् । 

उनले ९ हजार ६४२ मत प्राप्त गरे । डगौराका प्रतिद्वन्द्वी रावलले ६ हजार ६४२ मत पाए । डगौरा ०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट वडा नम्बर ७ को वडाध्यक्ष थिए । यस वर्षको चुनावअघि नवगठित नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेर उनले टीकापुरको मेयर जितेका हुन् ।

यस्तै, उपप्रमुखमा भने गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका खडकबहादुर शाह विजयी भए । उनी ७ हजार ९५५ मतका साथ विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नागरिक उन्मुक्तिकी उल्कादेवी विश्वकर्माले ७ हजार ८०२ मत पाइन् । 

माओवादीले ०७४ मा जितेका वडा नम्बर ७, ८ र ९ लाई कायम राख्दै यसपटक उपप्रमुखमा पनि विजय हासिल गर्न सफल भएको हो । ०७४ मा उपप्रमुख मात्रै जितेको काग्रेसले वडा नम्बर २, ३ र ६ मा वडाध्यक्षसहित ११ पद जितेको छ ।

०७४ मा नगरप्रमुखसहित वडा नम्बर १ र २ मा विजय भएको एमाले भने यसवर्ष एउटा वडाध्यक्षमा मात्र सीमित भएको छ । एमालेबाट वडा नम्बर १ को वडाध्यक्षमा मोहन विक निर्वाचित भएका छन् । 

नौवटा वडा रहेको टीकापुरमा प्रमुख जितेको नागरिक उन्मुक्तिले वडा नम्बर ४ र ५ मा वडाध्यक्षसहित सबै सदस्य, वडा नम्बर १ र ७ मा वडाध्यक्षबाहेकका सबै सदस्य पदमा विजय हासिल गरेको छ ।



०७२ सालमा टीकापुरमा भएको घटनाका दोषी भनेर हाल जेल जीवन बिताइरहेका सांसद रेशमलाल चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गत वर्षको पुसमा दर्ता भएको थियो । 



  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार ९:१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया