मतगणनास्थलमै कुटाइ खाएका घाइते शाहीको मृत्यु

हुम्लाको खार्पुनाथ गाउँपालिका याङ्चु बगरमा मतगणनास्थलमै कुटाइ खाएका गम्भीर घाइते छत्तबहादुर शाहीको मृत्यु भएको छ । नेपालगन्जस्थित नर्सिङ होममा उपचारका क्रममा शाहीको मृत्यु भएको हो ।

गएको वैशाख ३१ गते खार्पुनाथ गाउँपालिकाको केन्द्रमा मत गणना भइरहेको बेला एक्कासि बाहिर एमाले कार्यकर्तालाई नेपाली कांग्रेसका कार्यकर्ताले हमला गर्ने क्रममा तीनजना घाइते भएका थिए ।

घाइते भएका तीनजनामध्ये उनी गम्भीर घाइते भएपछि हेलिकोप्टरबाट उपचारका लागि सुर्खेत रिफर गरिएको थियो । शाहीको टाउकोमा गम्भीर चोट लागेको थियो । 

सुर्खेतको प्रदेश अस्पतालले उपचार गर्न नसक्ने भन्दै नेपालगन्जको भेरी अस्पतालमा रिफर गरिएको थियो । तर, शल्यक्रिया गर्ने उपकरण नभएपछि नेपालगन्जको नर्सिङ होम पठाइएको मृतक शाहीका आफन्तले जानकारी दिए ।

घाइते शाहीलाई सुर्खेतमा पनि उपचार सम्भव नभएपछि नेपालगन्जको नर्सिङ होममा उपचार गर्ने क्रममा चार दिनपछि मृत्यु भएको मृतकका छोरा सागर शाहीले बताए ।

शाहीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जनाकारी दिए । अन्य दुईजनाको भने अस्पतालमै उपचार भइरहेको छ । सोही घटनालाई लिएर नेकपा एमालेले खार्पुनाथ गाउँकमिटीले शोक विज्ञप्ति निकालेको छ ।



घटनाको यथार्थ छानबिन गरी संलग्नलाई कारबाही गर्न एमालेले माग गरेको छ । मृतकका आफन्तले सो घटनामा संलग्न ९ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय हुम्लामा जाहेरीसमेत दिएका छन् । 

प्रहरीले जाहेरी आएको र अब घटनामा संलग्नको खोजीकार्य सुरु भएको जनाएको छ ।



  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार १८:५७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया