नीति तथा कार्यक्रममा नेपाली उत्पादनको प्रवर्द्धनमा ध्यान दिइन्छ : गगन थापा
फाइल तस्वीर

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपाली उत्पादनको प्रवर्द्धनमा ध्यान दिइने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् स्वर्णिम वाग्लेद्ववारा लिखित पुस्तक 'अतृप्त अवसर' लोर्कापण तथा समसामयिक अर्थ–राजनीतिक विमर्शमा बोल्दै महामन्त्री थापाले सरकारको आगामी आर्थिक वर्षको  नीति तथा कार्यक्रममा नेपाली उत्पादनको प्रवर्द्धनमा ध्यान दिइने बताएका हुन् । 

उनले आफूहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको सुझावअनुसार उद्योग मन्त्रालय अर्न्तगत प्रधानमन्त्री नेपाली उत्पादन प्रवर्द्धन कार्यक्रमको नाममा छुट्टै परियोजना आउने बताए । यस अन्तर्गत कृषि, खाद्यान्न, वनपैदावार, जडिबुटी, औषधी, निर्माण तथा हस्तकला लगायतका क्षेत्रमा काम हुने उहाँले उल्लेख गरे । 

‘हिजो मात्रै प्रधानमन्त्रीलाई भेटेर यो वर्षको नीति, कार्यक्रममा प्रधानमन्त्री नेपाली उत्पादन प्रवर्द्धन कार्यक्रम भनेर एउटा छुट्टै परियोजना उद्योग मन्त्रालयले लिड गर्ने यसमा एउटा सानो स्टडी गरेर नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्रीलाई गएर बुझाएको, उहाँले हाम्रो कुरा सुनिदिनु भयो । राखिदिनु भएको छ । यसमा छ वटा सेक्टर छ, एउटा टेक्सटायल, एउटा फुटवेयर, कृषि र खाद्यान्न, वन, पैदावार, जडिबुटी र औषधी र कन्ट्रक्शन, हस्तकला सातवटा एरिया गरेर के गर्नुपर्छ भनेर सबै डिटेलसहित बुझाएर यसपालिको नीति कार्यक्रम र वार्षिक कार्यक्रममा छुट्टै कार्यक्रम उद्योग मन्त्रालयले लिड गर्ने गरी लिएर आएको छ ।’

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले नेताहरूको कुर्सी मात्रै जोगाउने राजनीतिक स्थिरताले केही दिन नसकिने बताए । उनले देश विकासका लागि नीतिगत सुनिश्चितता आवश्यक रहेको बताए । देशको विद्यमान पद्धती र प्रणालीमा सुधार आवश्यक रहेको उनले बताए । 

उनले भने, ‘आफ्नै कुर्सिमात्रै जोगाउने स्थिरताले त केही दिँदो रहेनछ । नीतिगत सुनिश्चितता त्यो चाहिँ हुनुपर्‍यो । सरकारको तीन वर्षे, पाँच वर्षे नहेरौँ । लामो हेरौँ । अर्को नेता विशेषको ओझ, नेता विशेषको करिस्मा भन्दा पनि अन्तत्ः पद्धती र प्रणालीमा सुधार नगरीकन डेलिभरी हुँदोरहेनछ भन्ने कुरा हामीले निरन्तर देखिराखेको छौँ ।’



राष्ट्रिय योजना आयोगकी पूर्वसदस्य उषा झाले विकासको दिर्घकालिन योजना बनाउनुपर्ने बताइन् । विकासका लागि ५ वर्षको नभई २५ वर्षको योजना बनाउनुपर्नेमा उनले जोड दिइन् । नेपालमा काम गर्न नीतिको कमी नभए पनि प्रशासनिक प्रक्रियामा ढिलो हुने गरेको उनको भनाइ छ । 

उनले २५ वर्षे योजना बनाउन सके ५ वर्षमा जसको सरकार आएपनि योजना बनाइरहनु नपर्ने र गुरुयोजना अनुसार काम निरन्तर अगाडी बढाइराख्न सजिलो हुने बताए ।



  • प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार १५:२४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया