नेपाल र कुवेतबीचको खेल आज, दुबै टोली पहिलो जितको खोजीमा

एएफसी एसियन कप २०२३ छनोटअन्तर्गत समूह ए को दोस्रो खेलमा आज नेपालले आयोजक कुवेत विरुद्ध खेल्दैछ । कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा हुने खेल स्थानिय समय अनुसार राति ७:१५ मा (नेपाली १० बजे) सुरु हुनेछ । 

प्रतियोगितामा दोस्रो खेल खेल्दै गर्दा दुबै टोली पहिलो जितको खोजीमा छन् । समूहको पहिलो खेलमा घरेलु टोली कुवेत इन्डोनेसियासँग २–१ अन्तरले पराजित भएको थियो । यस्तै, नेपाल बलियो टोली जोर्डनविरुद्ध २–० अन्तरले खेल गुमाएको थियो । 

जोर्डनविरुद्ध युवा टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्दा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सोहि सेटलाई मौका दिने योजनामा छन् । त्यसैले दोस्रो दिन टोलीमा कुनै परिवर्तन हुने छैन । गोलरक्षक दीप कार्की र डिफेन्डर विकास तामाङले डेब्यु खेलमा आशालाग्दो प्रदर्शन गरेका थिए । 

यस्तै, एक वर्षअघि यसै मैदानमा चोट बोकेर यहि मैदानमा कमब्याक गरेका विकास खवासले समेत उत्कृष्ट प्रदर्शन जारी राखे । पहिलो हाफको अन्त्यमा गोलरक्षक दीपले एक पेनाल्टी बचाउँदै आफूलाई सिद्ध गरे ।  

यस्तै अग्रपंक्तिमा आयुष घलान, मनिष डांगीसँगै सेसेहाङ आङ्देम्बे, पुजन उपरकोटी, सुरज जिउ ठकुरी, रक्षक द्वय गौतम श्रेष्ठ र सुमन अर्यालले समेत आशालाग्दो प्रदर्शन गर्दै युवा टोलीमा थप हौसला प्रदान गरे । 

यता, बलियो मानिएको घरेलु टोली कुवेत भने मैदानमा बाहिरको खराव आवाजलाई मैदानमा समेत निरन्तरता दिँदै दुःखद् नतिजा बेहोर्न बाध्य भयो  । टिम छनोट बाटै विवादमा रहेको कुवेती टिमले मैदानमा समेत राम्रो प्रभाव पार्न सकेको छैन । उमेर ढल्केका खेलाडीलाई टोलीमा स्थान दिँदा हाल कुवेत एफए नै विवादमा तानिएको छ र उसको समर्थन समेत पहिलो खेलमा खुसी देखिएका थिएनन् । 



औसत ३० उमेरका खेलाडी सामु नेपालका औसत २२ खेलाडीले जुझारु प्रदर्शन गर्नेमा प्रशिक्षक अब्दुल्लाह विश्वस्त छन् । नियमित र अनुभवी १० खेलाडी विना कुवेतमा रहेको नेपाली टिमको यस खेललाई परीक्षाको रुपमा समेत हेरिएको छ । जोर्डनसँग बराबरी गर्ने योजना सफल नभएपछि प्रशिक्षक अब्दुल्लाहले बाँकी दुई खेलमा आफ्नो पक्षमा खेल पार्ने योजना बुनेका छन् । 

यस्तो छ यी दुईबीचको विगत



नेपाल र कुवेतबीच हालसम्म आठ खेल हुँदा नेपालले सातमा हार र एक खेल बराबरी खेलेको छ । यी दुई टिमले पहिलोपटक सन् १९८२ मा एकअर्काको सामना गरेका थिए । एएफसी एसियन कप छनोट अन्तर्गतको उक्त भेटमा नेपालले ३-१ को पराजय बेहोरेको थियो ।

नेपाल सन् १९८६ मा ५-० र १९९४ मा ८-० ले पराजित हुन पुग्यो । यी दुवै खेल एसियन्स गेम्स छनोटअन्तर्गत भएका थिए । एफसी एसिया कप छनोटअन्तर्गत सन् २००० मा भएको भेटमा नेपाल ५-० ले पराजित हुँदा सन् २०१९ को मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो । 

त्यस्तै, नेपालले सन् २०१९ मै भएको मैत्रिपूर्ण खेलमा १-० तथा विश्वकप छनोट अन्तर्गतका खेलमा ७-० र १-० को हार  बेहोर्‍यो । नेपालले हालसम्म कुवेत विरुद्ध ३० गोल बेहोर्दा एक गोल मात्र फर्काउन सकेको छ । 

  • प्रकाशित मिति : जेठ २८, २०७९ शनिबार ७:२०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया