नेपालको अवस्था युक्रेनभन्दा संवेदनशील : प्रदीप ज्ञवाली

नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अहिले नेपाल युक्रेनभन्दा संवेदशील अवस्थामा रहेको बताएका छन् । 

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आज बोल्दै उनले संयम भएर परराष्ट्र नीतिको अभ्यास गर्न उनले सरकारलाई सचेत गराएका छन् । 

‘आज युक्रेनमा जे देखिएको छ । त्यसतर्फ हामीले पनि ख्याल गर्नुपर्ने हुन्छ,’ उपमहासचिव ज्ञवालीले भने । 

वर्तमान सरकारले चीनसँग गरेको व्यवहार ठीक नभएको समेत उनले बताए । 

‘बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बिआरआई) अनुदानमा पाए लिने, नत्र नलिने । सित्तैमा पाए अलकत्रा खाने हो ? चीनसँग वर्तमान सरकारको नीति ठीक भएन,’ उपमहासचिव ज्ञवालीले भने, ‘ऋण लिने वा अनुदान भन्ने मेरिट बेसमा हुनुपर्छ । हामीले कुनै सहायता सित्तैमा पाए पनि लिनुहुँदैन । तर, आवश्यकता पर्यो भने ऋण पनि लिने हाम्रो नीति हो ।’ 

केही दिनअघि तिब्बत मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्रीको नेपाल भ्रमणप्रति उनले आपत्ति जनाए । उनले भने, ‘छिमेकलाई र उसको चासोलाई बेवास्ता गरेर हामी जे गर्दै छौँ, त्यसले हामीलाई अप्ठ्यारोमा पार्छ ।’ 



समग्रमा वर्तमान सरकारको छिमेक सम्बन्ध ठीक नभएको उनले बताए । वर्तमान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सुरुमै विदेशीका लागि कन्फरटेबल सरकार भनेर परराष्ट्र नीतिबारे गलत अभ्यास सुरु गरेको आरोप उनले लगाए । 

‘सीमाबारे हामीले कालापानीलाई संविधान नै समेटेर नक्सामा राख्यौँ । त्यो भूभाग लिनेतिर ध्यान दिएनौँ । बरु समस्या नै नभएको चीनबारे सीमा मिचिएको भनी अध्ययन गर्यौं । के आयो रिजल्ट ?,’ उपमहासचिव ज्ञवालीले प्रश्न गरे ।  



  • प्रकाशित मिति : जेठ ३०, २०७९ साेमबार १७:५१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया