मूल्यवृद्धि विरुद्ध चरणबद्ध आन्दोलन गर्ने राप्रपाको घोषणा

राप्रपाले असार १३ गतेदेखि ३१ गतेसम्म चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । मूल्यवृद्धि, मल अभाव लगायत जनजीविका सँग रहेर थालेको आन्दोलनलाई राप्रपाले निरन्तरता दिने भएको हो । पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ।

किसानको मागअनुसार रासायनिक मलको आपूर्ति हुन नसकेको भन्दै असार १३ गते ७७ वटै जिल्लाका कृषि ज्ञान केन्द्रमा धर्ना तथा कोणसभा गर्ने राप्रपाले निर्णय गरेको छ । त्यस्तै प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रका विषय सम्बोधन हुनुपर्ने माग राखी असार १७ गते ७७ वटै जिल्लाका सदरमुकाममा राँके जुलुस गर्ने निर्णय पनि भएको छ । यसअघि नै राप्रपाले मूल्यवृद्धि, मल अभाव लगायतका विषय समेटेर प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ज्ञापनपत्र बुझाएको थियो ।

असार १९ गते पार्टीसँग आबद्ध ट्रेड युनियनको नेतृत्वमा श्रमिकको उचित ज्याला निर्धारण र श्रमिकको जीवन बिमा लगायतका माग सहित श्रममन्त्रीलाई ज्ञापनपत्र बुझाउने, असार २४ गते भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने आन्दोलन परिचालन समितिको बैठकले निर्णय गरेको छ ।

त्यस्तै असार २७ गते राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको नेतृत्वमा पाठ्यपुस्तक अभाव हटाउन माग गर्दै जनक शिक्षा सामग्री केन्द्रमा र कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क हुने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गराउन माग गर्दै उच्च माध्यमिक शिक्षा परिषदमा ज्ञापनपत्र बुझाउने र असार ३१ गते राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको नेतृत्वमा महिला हिंसा विरुद्ध राष्ट्रिय महिला आयोगमा धर्ना दिने राप्रपाले निर्णय गरेको छ ।  





  • प्रकाशित मिति : असार ९, २०७९ बिहीबार १०:५६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया