नेकपा एकीकृत समाजवादीका १० सांसदहरुले विद्रोह गरेका छन् । उनीहरुले पछिल्लो समय नेतृत्वले लिएका विभिन्न निर्णयहरु सही नभएको भन्दै विद्रोह गरेका हुन् ।
स्रोतका अनुसार उनीहरुले आज विहान एक बैठक बसेर विद्रोह गर्ने निर्णय गरेका हुन् ।
फरकधारलाई प्राप्त यो बैठकको निर्णयमा ८ बुँदामा समेटिएको छ । उनीहरुले तत्काल संसदीय दलको बैठक बोलाउन पनि माग गरेका छन् ।
नेकपा एकीकृत समाजवादीले अहिले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई दिइसकेको छ ।
पार्टीको यो निर्णयमा असन्तुष्टि जनाउँदै विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्ण कुमार श्रेष्ठ, कृष्णलाल महर्जन, गोपाल बहादुर बम, विनादेवी बुढाथोकी, पुष्पा कुमारी कर्ण कयस्थ, धनबहादुर बुढा, निरा जैरुले छुट्टै बैठकमा यो निर्णय गरेका हुन् ।
उनीहरुले पार्टी अध्यक्ष माधवकुमार नेपालले बारम्बार प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीहरुको सपथ गराउन दबाब दिएको र आफूहरुलाई यो स्वीकार्य नभएको बताएका छन् ।
उनीहरुले प्रस्ताव गरिएका नयाँ मन्त्रीहरुको सूची असमावेशी भएको भन्दै त्यसमा आपत्ति जनाएका पनि छन् । नयाँ मन्त्रीहरु सिफारिस गर्दा पार्टीले पुरानो टिम पूरै फिर्ता गर्नु पर्ने उनीहरुको माग छ ।
‘यो विद्रोहको थालनी हो,’ यही बैठकमा सहभागी एक सांसदले फरकधारसँग भने, ‘नेतृत्वले यस्तो गल्ती गर्ने हो भने हामीले पार्टीसमेत छोड्न सक्छौँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।