logo-img

नेपाली क्रिकेट विदेशी कम्पनीलाई सुम्पिनु खेदजनक : पूर्वसञ्चारमन्त्री बाँस्कोटा

पूर्व सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट विदेशी कम्पनीलाई सुम्पिनु खेदजनक भएको भन्दै गम्भीर आपत्ति प्रकट गरेका छन् ।

आइतबार संघीय प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै नेकपा एमालेका नेता बास्कोटाले क्यान र गठबन्धन सरकारमाथि ‘नेपाल टी २० लिग’ गर्न भारतीय  सेभेन थ्री स्पोर्ट्र्स कम्पनीलाई कमर्सियल सम्झौता दिएकोमा आपत्ति जनाएका हुन् । 

‘नेपालको एउटै खेल विश्व वरीयतामा अलि कति माथि छ भने, त्यो क्रिकेट नै हो । १४ एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त देशमध्ये नेपाल पनि एक हो । तर, यस सरकारले नेपालको सम्पूर्ण खेल क्षेत्रलाई भारतको सेभेन थ्री स्पोर्ट्स प्रालि कम्पनीलाई सुम्पियो । क्रिकेट खेलको बन्ध्याकरण गर्यो । त्यो पनि आठ वर्षका लागि । हामी सबैलाई थाहा छ, खेलाडीहरु लिगहरुमा ‘हायर’ हुन सक्छन् । तर, यहाँ सम्पूर्ण खेल क्षेत्रमाथिको नियन्त्रण एउटा भारतीय कम्पनीलाई दिइएको छ’ बास्कोटाले भने । 

यसअघि क्यानले ११ वैशाखमा लिग हुने मेलमार्फत जनाएको थियो । यसपछि क्यानले ४ जेठमा नक्साल स्थित एक होटलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आधिकारीक घोषणा गरेको थियो । 

क्यानले प्रतियोगिता आधिकारीक घोषणासँगै नेपालमा चल्तिमा आएको फ्रेन्चाइज लिग गर्न नदिने बताएपछि एभरेष्ट प्रिमियर लिग सञ्चालक आमिर अख्तरले पत्रकार सम्मेलन गर्दै क्यानको सो निर्णयको खण्डन र विरोध गरेका थिए । 

यसपछि क्यानले १० जेठमा भ्रामक समाचार अख्तरले सम्प्रेषण गरेको भन्दै ध्यानाकर्षण भएको विज्ञप्ति निकाल्यो । सोही दिन बसेको क्यानको कार्यसमिति बैठकले नेपाल टी–२० लिग खेल्ने ६ टिम सहित तीन फ्रेन्चाइज लिगलाई क्षेत्रीय मान्यता दिने बताएको थियो । 



यस निर्णयसँगै कुनै समय क्याननिकट देखिएका आमिर अख्तर अहिले क्यानका सबैभन्दा ठूलो दुस्मनको रुपमा देखिएका छन् । सोही प्रकण एकपटक संसदमा देखिएको हो । 

पूर्वमन्त्री बास्कोटाले सार्वजनिक खरिद ऐन मिचेर आर्थिक अनियमितता गरेको आरोप सरकारलाई लगाएका छन् । 



‘एउटा प्राइभेट कम्पनी जसलाई ८ वर्षको निम्ति सम्पूर्ण खेल क्षेत्र दिइएको छ । त्यो पनि सार्वजनिक खरिद ऐन मिचेर, विना प्रतिस्पर्धा प्राइभेट कम्पनीलाई दिइएको छ । यो खेदजन्य र गम्भीर आपत्तिको विषय छ । सम्झौताअनुसार भारतीय कानुन लाग्नेछ । जुन कुरा सम्झैताको २१ नम्बर बुँदामा प्रस्टसँग उल्लेख गरिएको छ । ४.२.२ अनुसार खेलाडी र खेल क्षेत्रको सम्पूर्ण ‘इन्टेलेक्च्युल प्रपर्टी राइट” पनि त्यही कम्पनीलाई दिइएको छ । यो खारेज हुनुपर्छ । खेलकुद मन्त्रलायले यसलाई खारेज गर्नुपर्छ ।’

बास्कोटाले यस्तो अवस्थामा खेल क्षेत्रलाई लैजाने हो भने खेलकुद मन्त्रालय र मन्त्रीको के काम भनेर प्रश्न गरेका छन् । 

‘यस्तो अवस्थामा खेल क्षेत्रलाई लौजाने हो भने खेलकुद मन्त्रालयको के काम छ ? मन्त्रीको के काम छ ? क्यानको के काम छ ? सरकारले क्यानलाई पैसा दिनुको के काम छ ?’

यस्तै, उनले विदेशी कम्पनीलाई त्यसको सम्पूर्ण कानुनी अधिकार र प्रपर्टी राइट दिने कुरा अत्यन्तै घातक भएको र सम्झौता च्यातेर नयाँ सम्झौता गर्नुपर्ने साथै क्यान अध्यक्ष चन्दले क्रिकेट क्षेत्रलाई खत्तम बनाएको आरोप लगाए । 

‘हाम्रो सम्पूर्ण आन्तिरिक खेलहरुलाई बन्धक बनाउने विदेशको एउटा कम्पनीलाई त्यसको सम्पूर्ण कानुनी अधिकार र ‘प्रपर्टी राइट’ दिने कुरा अत्यन्तै घातक छ । व्यापक आर्थिक अनियमितता भएका छन् । सरकारलाई कानुन लाग्दैन ? सरकारले कानुन मिच्न पाउँछ ? परामादेशी भएपछि कि कानुन पनि च्यातेको हो ? विधिको शासन खै ? सुशासन खै ? क्यानको चतुरबहादुर चन्दले यसरी चतुर्याइँ गरेर देशको क्रिकेट क्षेत्रलाई खत्तम गर्नुभएको छ । यो चानचुने विषय होइन । सरकारको ध्यानकर्षण गर्छौं । यसरी खेल क्षेत्रलाई बर्बाद बनाउने कुरा हुन सक्दैन । यो सम्झैता च्यातिनुपर्छ । पूर्नविचार गर्नुपर्छ । गर्ने भए नयाँ सम्झैता गर्नुपर्छ ।’ 

  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार २०:४३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया