logo-img

लोसपा नेपालको मधेस प्रदेश समिति बैठक सम्पन्न

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेस प्रदेश समिति बैठक सोमबार जनकपुरधाममा सम्पन्न भएको छ । बैठकमा संगठन सुदृढीकरण, स्थानीय निर्वाचनको समिक्षा, पार्टीको सांगठनिक अवस्थालगायतका विषयमाथि छलफल गरिएको हो । 

बैठकमा स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारले पाएको मत र आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा अन्य पार्टीसँग चुनावी तालमेल गर्नेलगायत विषयमाथि समेत छलफल गरिएको पार्टीका प्रमुख सचेतक समेत रहेका धनुषा जिल्ला अध्यक्ष परमेश्वर साहले जानकारी दिए । 

उनले यी विषयमाथि छलफल गरेर केन्द्रीय कमिटीलाई प्रतिवेदन पठाउने निर्णय भएको जानकारी दिएका छन् । बैठकमा बोल्दै लोसपाका मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिस्टसँग मिलेर मधेसलाई कमजोर बनाएको आरोप लगाए ।

उनले भने, ‘मधेस आन्दोलनमाथि दमन गरेका कांग्रेस र कम्युनिस्टसँग मिलेर उपेन्द्र यादवको पार्टीले सत्ताका लागि मधेसलाई कमजोर बनाउने काम गरेकोे छ । अब मधेसलाई कमजोर गर्ने को हो भन्ने कुरा मधेसी जनतालाई बुझाउन जरुरी छ ।’

नेता सोनलले मधेस आन्दोलनको मुद्दामाथि कुठाराघात गरेर पटक–पटक धोका दिएकाहरुको असली चरित्र जनतालाई देखाउन र मधेसवादका लागि सक्रिय रहन नेता कार्यकर्तालाई​ आग्रहसमेत गरेका छन् ।

बैठकमा प्रदेश सांसद अभिराम शर्मा, रानी शर्मा तिवारी, जानकी शरण साह, जयनुल राइन, प्रदेश सचिव रामविनोद चौधरीलगायत नेता कार्यकर्ताको सहभागिता थियो ।





  • प्रकाशित मिति : असार १३, २०७९ साेमबार २०:५४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया