अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित कार्यसमितिले प्रधानमन्त्री शेरबहादुर देउवासँगले भेट गरेको छ ।
बुधबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पुगेर एन्फा नवनिर्वाचित पदाधिकारीले देउवासँग भेट गरेको हो । भेटमा उनले नवनिर्वाचित एन्फा कार्यसमितिलाई बधाई दिएका थिए ।
त्यस्तै, प्रधानमन्त्री देउवाले फुटबल विकासका लागि सरकारले सहयोग गर्ने आश्वासन पनि दिए । ‘फुटबलको विकासका लागि मिलेर काम गर्दा सरकार सधैं तपाइँको साथमा रहनेछ,’ देउवाले भने ।
काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा गएको ६ असारमा भएको निर्वाचनबाट पंकजविक्रम नेम्वाङ एन्फा अध्यक्षमा निर्वाचित भएका थिए । नेम्वाङ अध्यक्षका अर्का प्रत्यासी कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गरेका थिए । यस्तै, वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का उपाध्यक्षमा दावा लामा, दिपक खतिवडा, विराट जंग शाही र दीर्धबहादुर केसी निर्वाचित भएका थिए ।
महिला सदस्यमा सरिला श्रेष्ठ र पेमा डोल्मा लामा निर्वाचित हुँदा केन्द्रीय सदस्यमा मनिष जोशी, अनिल मल्ल, रवीन्द्र चन्द, विकास नारायण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षेत्री, पुरुषोतम थापा, रमेश ब्यञ्जनकार, मनिराज विष्ट, टिकाराम लामा, भरत बुढथापा निर्वाचित भएका थिए ।
बाँकी दुई सदस्य भने आगामी एन्फा महाधिवेशनले तय गर्नेछ । दीपक थापा क्षेत्री, रूपेश अधिकारी, दीपेन्द्र धिमाल र लोकेन्द्र गुरुङले बराबर मत प्राप्त गरेपछि एन्फाको विधान र फिफा र एएफसी प्रतिनिधिहरूको सुझावअनुसार आगामी एन्फा महाधिवेशनबाट दुई सदस्य तय गरिने एन्फाले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।