logo-img

स्वतन्त्रको अवधारणा-पत्र : उम्मेदवार बन्‍न पूरा गर्नुपर्ने छ १३ मापदण्ड

संसदीय निर्वाचनमा देशभरबाट स्वतन्त्र रुपमा उम्मेदवारी दिने तयारी गरेका स्वतन्त्र उम्मेदवारको पहिलो विशेष भेला उम्मेदवार बन्नका लागि १३ मापदण्ड तय गरेको छ । शनिबार बिहान ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा स्वतन्त्र उम्मेदवारको पहिलो विशेष भेला १३ बुँदे मापदण्ड तयार पारेको हो ।

भेलमा स्वतन्त्र उम्मेदवारी अभियानका संयोजक डम्बर साहुले 'राजनीतिमा शुद्धीकरण : मिसन-१६५' नाम दिएर अवधारणा-पत्र प्रस्तुत गरेका थिए । अवधारणामा स्वतन्त्र उम्मेदवार बन्नका लागि १३ वटा मापदण्ड पूरा गर्नुपर्ने उल्लेख छ । 

जसअनुसार ६८ वर्षमाथिको व्यक्तिले स्वतन्त्र उम्मेदवार हुन नपाउने, स्नातक तहसम्मको शिक्षा लिएको हुनुपर्ने, चुनावमा उठेकै दिन सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेलगायतका मापदण्ड छन् ।

त्यस्तै, अवधारणापत्रमा उम्मेदवार बन्ने व्यक्तिले जितेर गर्ने कामका बारेमा आफ्नो स्पष्ट कार्ययोजना र भिजन सार्वजनिक गर्ने, प्रदेश वा संघको मन्त्री दाबी गर्ने व्यक्तिले सम्बन्धित मन्त्रालयको विषयमा विज्ञता राखेको हुनुपर्ने, विदेशमा ग्रिनकार्ड वा पीआर लिएका व्यक्तिलाई स्वतन्त्र उम्मेदवारका रूपमा मतदान गर्न वा स्वतन्त्र उम्मेदवार मान्न नसकिने उल्लेख छ ।

यस्ता छन् मापदण्ड

१) हामीले मत दिने उम्मेदवार विरासत, पैसा, इतिहासको ब्याज र सम्प्रदायका आधारमा होइन, व्यक्तिगत क्षमता, योग्यता, कार्ययोजना र नैतिकवान् चरित्रका आधारमा तय हुनेछ ।



२) राज्यले नै ६८ वर्षको व्यक्तिलाई वृद्ध भत्ता तोकिसकेको हुनाले हामीले मतदान गर्ने उम्मेदवार अधिकतम ६८ वर्ष नकटेको हुनेछ ।

३) सांसद वा मन्त्रीले देश–विदेशमा विभिन्न छलफल र निर्णयमा सहभागिता जनाउनुपर्ने भएकाले सांसदका उम्मेदवारको न्यूनतम योग्यता स्नातक तह उत्तीर्ण हुनुपर्नेछ ।



४) प्रत्यक्ष निर्वाचनमा लड्ने व्यक्तिले चुनाव लड्ने घोषणा गरेकै दिन आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेछ । 

५) सांसदको उम्मेदवार बन्न चाहने व्यक्तिको चरित्र स्वच्छ हुनुपर्छ । उसमाथि कुनै पनि चारित्रिक दाग लागेको हुनुहुँदैन । उम्मेदवारी घोषणा गरेकै दिन पुलिस रिपोर्ट सार्वजनिक गरिएको हुनुपर्दछ । 

६) उम्मेदवार बन्ने व्यक्तिले जितेर गर्ने कामका बारेमा आफ्नो स्पष्ट कार्ययोजना र भिजन सार्वजनिक गर्नुपर्छ ।

७) प्रदेश वा संघको मन्त्री दाबी गर्ने व्यक्तिले सम्बन्धित मन्त्रालयको विषयमा विज्ञता राखेको हुनुपर्दछ । 

८) उम्मेद्वार बन्ने व्यक्ति राज्यको नीति निर्माण गर्ने थलोमा स्वार्थ बाझिनेखालको हुनुहुँदैन । जस्तै–निजी व्यवसायी, व्यापारी एवं ठेकेदारहरू नै सांसद, मन्त्री वा संसदीय समितिका सभापति बन्ने परिपाटीको अन्त्य गरिनुपर्दछ ।

९) विदेशमा ग्रिनकार्ड वा पीआर लिएका व्यक्तिलाई स्वतन्त्र उम्मेदवारका रूपमा मतदान गर्न वा स्वतन्त्र उम्मेदवार मान्न सकिने छैन ।

१०) तीनपटकभन्दा बढी मन्त्री भइसकेकाहरूलाई मतदान गरिने छैन ।

११) उम्मेदवार बन्ने व्यक्तिले परिवारको जीविकोपार्जनको वैधानिक स्रोत सार्वजनिकरुपमा खुलाउनुपर्नेछ । 

१२) भ्रष्टाचारको अभियोग लागेका व्यक्ति उम्मेदवार बन्न पाउने छैनन् ।

१३) सांसद वा मन्त्री बनेर घुस खान्नँ, कुनै अनियमितता गर्दिनँ, जनताको पक्षमा काम गर्नेछु, त्यसो नगरे राजीनामा दिएर फिर्ता हुन तयार छु भन्ने प्रतिबद्धता जनाउनुपर्नेछ । संवैधानिक आयोग एवं राजदूतलगायत अन्य राजनीतिक नियुक्तिहरूमा हुने दलीय भागबण्डाको संसदमा खुलेर विरोध गर्नु प्रतिबद्धता जनाउनुपर्ने छ ।

  • प्रकाशित मिति : असार १८, २०७९ शनिबार १३:५४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया