जबराविरुद्धको महाभियोगमाथिको छलफल प्रतिनिधिसभाको कार्यसूचीमा
फाइल तस्वीर

प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने भएको छ ।

संघीय संसद्ले आइतबारका लागि जारी गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा महाभियोग प्रस्तावमाथि छलफल हुने उल्लेख छ । 

जबराविरुद्ध १ फागुनमा प्रतिनिधिसभामा महाभियोग दर्ता गरिएको थियो । महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका थिए । जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरू महाभियोग गर्दा गरेका हुन् ।

प्रतिनिधिसभाले २२ फागुनमा महाभियोग सिफारिस समिति गठन गरेको थियो । यद्यपि जबराविरुद्धको महाभियोग प्रस्तावमाथि अहिलेसम्म छलफल हुन सकेको थिएन ।

सम्भावित कार्यसूचीमा परेपछि अब भने महाभियोग प्रस्तावमाथि छलफल हुने ठानिएको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको सम्भावित कार्यक्रमको ४ नम्बरमा महाभियोग प्रस्तावमाथि छलफल गर्ने भनी उल्लेख गरिएको छ ।

'मिति २०७८ फागुन २९ गतेको बैठकमा मा श्री देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम प्रस्तुत गर्नुभएको प्रधानन्यायाधीश श्री चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने' सम्भावित कार्यक्रममा उल्लेख छ ।



त्यस्तै सूचीको एक नम्बरमा राष्ट्रपतिको कार्यालयको पत्र पढेर सुनाउने, दोस्रो र तेस्रो नम्बरमा प्रतिवेदनहरू पेश गर्ने कार्यसूची रहेको छ ।



  • प्रकाशित मिति : साउन २१, २०७९ शनिबार १४:१४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया