ज्ञानेन्द्र शाहीकाे वडामा राप्रपाकाे जम्मा १६ मत, कसरी जित्लान् संघीय सांसद ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले जुम्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचन लड्ने घोषणा गरेका छन् । शाही जुम्लाको सिंजा गाउँपालिका वडानम्बर ३ निवासी हुन् ।

सोमबार काठमाडौंको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दै शाहीले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । शाहीले जुम्लाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारी घोषणा गर्दै गर्दा उनको पार्टी जनमतमा भने निकै कमजोर छ । 

जुम्लामा ८ स्थानीय तह छन् । जसमध्ये राप्रपाले जिल्लाभर जम्मा दुईवटा वडा सदस्य मात्र जितेको छ । राप्रपाले गुठिचौर गाउँपालिकाको वडानं १ मा दुईवटा वडा सदस्य मात्र जितेको छ । वडा नं १ को महिला सदस्यमा राप्रपाबाट बिजुल्ली बुढाले ३ सय ६८ मत प्राप्त गरी विजयी भएकी छन् भने सोही वडाको सदस्यमा मानबहादुर कठायत ३६८ मतका साथ निर्वाचित भएका छन् । 

चन्दननाथ नगरपालिका वडा नं ४ मा राप्रपाबाट श्रीकृष्ण बुढा वडाध्यक्षका निकटतम प्रतिद्वन्द्वी भएका थिए । उनले २ सय १८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका नवराज देवकोटा २७५ मत प्राप्त गरी विजयी भएका थिए । राप्रपाले जुम्लाका सबै स्थानीय तहमा सबै पदका लागि उम्मेदवार उठाए पनि एक सिट पनि जित्न भने सकेको छैन ।

तातोपानी, तिला, पातारासी, हिमा, सिंजा, कनका सुन्दरी गाउँपालिका र चन्दननाथ नगरपालिका राप्रपाले वडा सदस्यसमेत जित्न सकेको छैन । एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लाबाट ०७४ मा माओवादी केन्द्र गजेन्द्र महत ‘कार्मा’ निर्वाचित भएका थिए । 

शाहीकै अनुसार पनि जुम्लामा राप्रपा निकै कमजोर छ । गत स्थानीय तहको मतपरिणाम अनुसार राप्रपाले करिब ४५० मत मात्रै ल्याएको उनी बताउँछन् । शाहीको वडामा राप्रपाले १६ मत ल्याएको छ ।



राप्रपाको बीउ खोज्नुपर्ने स्थानमा किन चुनाव लड्न लागेको भन्ने प्रश्नमा शाही भन्छन्,  ‘जुम्ला मेरो जन्मभूमि हो । त्यसको ऋण तिर्नु छ । जुम्लाका सुख दुःखसँग जीवन साट्नु छ । जुम्ली जनताले हराए पनि जिताए पनि स्वीकार्य छ ।’

०७८ फागुन ६ गते उनी राप्रपामा प्रवेश गरेका थिए । हाल उनी राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको सदस्य छन् । राप्रपाका पाँचजना प्रवक्ता मध्येका एकजना शाही पनि हुन् ।



  • प्रकाशित मिति : साउन २३, २०७९ साेमबार १८:३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया