गुठी संस्थानले नै रामरोशनलाई जानकी मन्दिरको उत्तराधिकारी महन्थमा नियुक्त गरेको दाबी

सरकारी कागजात कीर्ते गरी नक्कली परिचयपत्र बनाएको आरोप लगाउँदै जानकी मन्दिरका सहायक महन्त रामरोशन दासविरुद्ध गत साउन ४ गते जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेको थियो । सहायक महन्थ दासले सरकारी कागजात कीर्ते गरी नक्कली परिचयपत्र बनाएर मन्दिरको श्रीसम्पत्ति हिनामिना गरेको भन्दै जनकपुरधाम–२३ बस्ने वैजनाथ चौधरीले उजुरी दिएका थिए ।
 
उजुरीमा रामरोशनले उत्तराधिकारी महन्थको फर्जी परिचय पत्र बनाएको र जानकी मन्दिर र लक्ष्मण मन्दिरको आम्दानीको हिनामिना गरेको आरोप लगाइएको थियो । चौधरीले गुठी संस्थान प्रधान कार्यालय, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, जिल्ला प्रहरी कार्यालय र गुठी तथा तहशील कार्यालयलाई बोधार्थ गरी साउन ४ गते नै निवेदन दिएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।

उनले भने, ‘सहायक महन्थ दासले सरकारी कागजको रूपमा आफ्नो नाममा मन्दिरको उत्तराधिकारी महन्थको कीर्ते परिचयपत्र बनाई गुठी संस्थानको पनि कीर्ते छाप लगाएको निवेदनमा आरोप लगाइएको छ ।’

निवेदन आए पनि त्यसमाथि छानबिन कहाँसम्म पुगेकोबारे आफूलाई कुनै जानकारी नरहेको सहायक प्रजिअ भण्डारीले बताए । उनले सो विषयमा अनुसन्धान जारी नै रहेको र अनुसन्धानविना केही बोल्न सक्ने स्थिति नरहेको बताए । 

यता, गुठी संस्थानका अनुसार जानकी मन्दिरको उत्तराधिकारी महन्थ रामरोशन नै हुन् । संस्थानका प्रमुख बैकुण्ठ रेग्मीका अनुसार संस्थानले नै उनलाई मन्दिरको उत्तराधिकारी महन्थमा नियुक्त गरेको हो । 

उनले भने, ‘रामरोशनले उत्तराधिकारी महन्थको फर्जी परिचय पत्र बनाएको आरोप निराधार हो, उनलाई २०७७ सालमै गुठी संस्थानको संचालक समितिको बैठकबाट निर्णय गरेर उत्तराधिकारी महन्थमा नियुक्त गरिएको थियो ।’ ‘मन्दिरको आर्थिक कारोबार गर्ने अधिकार महन्थलाई मात्रै हुन्छ, रेग्मीले भने, ‘त्यसैले उत्तराधिकारी महन्थले आर्थिक हिनामिना गर्न सक्ने कुनै सम्भावना नै बन्दैन ।’ 

लक्ष्मण मन्दिरको आर्थिक कारोबार सोही मन्दिरका पूजारी सुशील दास वैष्णवले हेर्दै आइरहेका छन् । जानकी मन्दिर र लक्ष्मण मन्दिरको विषय अलग–अलग रहेकाले दुवै मन्दिरको आर्थिक कारोबार पनि अलग–अलग हुँदै आइरहेको प्रमुख रेग्मीले बताए ।
 
यता, सहायक महन्थ दासले पनि जानकी मन्दिरमा डेढ वर्षअघि नै गुठी संस्थानले आफूलाई बोडैको बैठकबाटै औपचारिक रुपमा उत्तराधिकारी महन्थ नियुक्त गरेको दाबी गरेका छन् । उनले जानकी मन्दिरमा सुरुदेखि नै गुरु शिष्य परम्परा रहेको र सोही आधारमा महन्थ रामतपेश्वर दास वैष्णवले पनि आफूलाई उत्तराधिकारी महन्थ घोषणा गरिसकेको बताए ।



उनले भने, ‘महन्थजीले पनि मबाहेक उनको अर्को कुनै उत्तराधिकारी नरहेको कुरा सञ्चारकर्मीहरु समक्ष नै बताइसकेका छन् । यस्तो अवस्थामा मैले कीर्ते कागजात बनाएको भन्ने हल्ला कहाँबाट फैलाइयो । यो सरासर गलत हो । म आफैँ आश्चर्यचकित छु ।’


महन्थले नै ज्येष्ठ चेलाको रुपमा नाता प्रमाणित गराएर रामरोशनलाई उत्तराधिकारी महन्थ बनाई दिन गुठी संस्थानमा सिफारिस गरेका थिए ।



  • प्रकाशित मिति : साउन २५, २०७९ बुधबार १८:५२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया