logo-img

विवेकशील साझाको अध्यक्षमा समीक्षा बास्कोटा, संयोजकमा सञ्जीववल्लभ भट्टराई चयन

विवेकशील साझा पार्टीले नयाँ नेतृत्व चयन गरेको छ। पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले गत जेठमा दिएको राजीनामा स्वीकृत गर्दै पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले नयाँ नेतृत्व चयन गरेको हो ।

बैठकले कार्यसम्पादन समिति सदस्य समीक्षा बास्कोटालाई नयाँ अध्यक्ष चयन गरेको हो। त्यसै गरी रिक्त संयोजक पदमा कार्यसम्पादन समितिकै अर्का सदस्य सञ्जीववल्लभ भट्टराई चयन भएका छन्।

विवेकशील साझा पार्टी, वागमती प्रदेशकी पूर्व संयोजक ३८ वर्षीय बास्कोटा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौ महानगरपालिकाको मेयरको उम्मेदवार थिइन्। 

त्यसअघि उनले ०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभा सदस्यको उमेदवार बनेर २७ प्रतिशत मतसहित तेस्रो स्थान हासिल गरेकी थिइन्। उनले काठमाडौं स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमै स्नातकोत्तर गरेकी छिन्। 

संयोजक चयन भएका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य भट्टराईले समाजशास्त्र, अर्थशास्त्र र अंग्रेजी भाषामा स्नातक गरेका छन्। ३४ वर्षे भट्टराई तत्कालीन विवेकशील नेपाली दलको निर्वाचित नीति सचिव तथा विवेकशील साझा पार्टीको नीति विभाग प्रमुख थिए।

केन्द्रीय समिति बैठकले निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रबाट स्थापनादेखि आजसम्म पार्टी निर्माणमा भएको अनवरत त्याग, योगदान तथा समग्र पार्टी पंक्तिलाई दिएको प्रेरणाप्रति उच्च सम्मान व्यक्त गर्दै आगामी मार्गमा सफलताको हार्दिक शुभकामना व्यक्त गर्ने निर्णय गरेको छ।



बैठकले आउँदो मंसिर ४ गते हुने संघीय तथा प्रादेशिक निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा पार्टी अध्यवधिक​ गर्ने र त्यसका लागि आवश्यक तयारी थाल्ने पनि निर्णय गरेको छ।



  • प्रकाशित मिति : साउन २९, २०७९ आइतबार २१:१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया