बझाङ माओवादीभित्र टिकटको हानथाप, कसले पाउला टिकट ?
फरकधार / ३० साउन, २०७९

सरकारले संघ र प्रदेशको चुनाव आगामी मंसिर ४ मा गर्ने घोषणा गरिसकेको छ । संघ र प्रदेशको चुनाव एकैपटक हुने भएपछि सबै पार्टीका साना-ठूला नेताहरूको दौडधूप चलेको छ ।

चुनावको मिति नजिकिँदै गर्दा टिकटका आकांक्षी नेताहरू साम, दाम, दण्ड, भेदको नीति अपनाएर टिकट हात पार्ने दाउमा छन् । सत्तारुढ दलले सिट बाँडफाँटको लागि कार्यदल बनाएको छ । कार्य दलले कुन पार्टीले संघमा कति टिकट पाउने, प्रदेशमा कति टिकट पाउने भन्ने बारेमा निर्णय गर्न बाँकी नै छ ।

प्रदेशमा पनि कुन जिल्लाको कुन निर्वाचन क्षेत्रमा गठबन्धनको कुन पार्टीले टिकट पाउने भन्ने कुनै टुंगो लागको छैन । तर, नेताहरू भने टिकटको लबिङ गर्न दौडधूप गरिरहेका छन् ।



बझाङमा प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । प्रदेश सभाका लागि २ निर्वाचन क्षेत्र निर्धारण गरिएका छन् । गठबन्धनका दलहरूमध्ये बझाङमा मुख्य रूपमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीको बर्चस्व छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले ६ पालिका प्रमुख र ५ पालिका उपप्रमुख जितेर पहिलो पार्टी बनेको छ । 



नेकपा एमालेले ३ पालिका प्रमुख र २ उपप्रमुख जितेको छ । नेकपा माओवादी केन्द्रले २ पालिका प्रमुख र ३ उपप्रमुख जितेको छ भने एकीकृत समाजवादीले १ पालिका प्रमुख र २ उपप्रमुख जितेको छ ।

बझाङमा जनमतको आधारमा स्थानीय तह निर्वाचनलाई हेर्दा गठबन्धनभित्र पहिलो नेपाली कांग्रेस हो भने दोस्रो माओवादी केन्द्र हो । जिल्लामा समाजवादी तेस्रो पार्टी बनेको छ । संघ र प्रदेशका बझाङमा तीन निर्वाचन क्षेत्रमा गठबन्धनका तीन ठूला दललाई एक सिट भाग पर्ने निश्चित छ । 

संघमा कसले पाउने र प्रदेशमा कसले पाउने भन्नेबारेमा गठित कार्यदलले निष्कर्षपछि मात्रै भन्न सकिन्छ । यद्यपि, कांग्रेस जिल्लामा ठूलो पार्टी भएका कारण उसको नजर संघीय सांसदतिरै भएको विश्लेषण गरिन्छ । प्रदेशतर्फ माओवादी र समाजवादीले एक/एक सिट पाउँछन् भन्ने आकलन छ । 

माओवादी केन्द्रले प्रदेश सभाको कुनै एक निर्वाचन क्षेत्रको टिकट पाउँछ भन्ने निष्कर्ष निकालेका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र (क) र (ख) मध्ये कुनै एक क्षेत्र माओवादीले पाउने निश्चित जस्तै भएपछि आकांक्षी नेताहरूको हानथाप सुरु भएको छ । 

जिल्लाको निर्वाचन क्षेत्र (क) मा मुख्य गरी देवराज रेग्मी, धर्मराज विक, जनकबहादुर बुढा र मीनबहादुर कुँवर दाबेदार छन् । देवराज रेग्मी, मीनबहादुर कुँवर केन्द्रीय सदस्य हुन् । धर्मराज विक केन्द्रीय अनुशासन आयोगका सदस्य छन् ।

जनकबहादुर बुढा पार्टीको प्रदेश कमिटी सचिव हुन् । पार्टीभित्र राम्रै स्थानमा रहेका सबै नेताहरूले टिकट पाउनका लागि आ–आफ्नो किसिमको लबिङ गरिनै राखेका छन् । यद्यपि, देवराज रेग्मी र धर्मराज विकलाई पार्टीभित्र वरिष्ठ नेता मानिने भएकाले संघीय सांसदका लागि अगाडि बढाउने रणनीति माओवादी पंक्तिले लिएको बुझिन्छ ।

विक यसअघि एक कार्यकाल संविधानसभा सदस्यसमेत भइसकेका छन् । रेग्मी ०७० सालको आम निर्वाचनमा बझाङ क्षेत्र नं १ बाट उम्मेदवार बनेका थिए, तर उनी पराजित भए । यद्यपि, रेग्मी र विक दुवैले टिकटको दाबी भने गरी नै रहेका छन् । 

प्रदेशसभा सदस्यको लागि बझाङमा माओवादी पंक्तिभित्र टिकट कुन क्षेत्रले पाउने भन्ने बारेमा रस्साकस्सी चलेको छ । ०७४ को निर्वाचनमा माओवादी केन्द्रले प्रदेश (ख) तर्फ प्रत्यक्ष चुनाव जितेको हुनाले त्यतै टिकट दिइनुपर्ने प्रदेश (ख) का माओवादी पंक्तिको भनाइ छ भने १ स्थानीय तह प्रमुख र ३ उपप्रमुख जितेको हुनाले क्षेत्र नं (क) मा टिकट हुनुपर्ने अर्को पंक्तिको भनाइ छ । 

प्रदेश सभातर्फ क्षेत्र नं (क)मा माओवादी केन्द्रले टिकट पाए मुख्य गरी २ नेताहरुबीच टिकटको हानथाप पर्ने देखिन्छ । केन्द्रीय सदस्य मीनबहादुर कुँवर र प्रदेश कमिटी सदस्य जनकबहादुर बुढा मुख्य दाबेदार छन् । सिनियर नेता देवराज रेग्मी र धर्मराज बुढालाई युवा नेताहरू जनकबहादुर बुढा र मीनबहादुर कुँवरले ओझेलमा पारेको माओवादी कार्यकर्ता बताउँछन् । 

युवा नेताद्वय बुढा र कुँवरको नै मुख्य दाबेदारी रहेको माओवादी केन्द्रका एकजना प्रदेश समिति सदस्यले बताए । उनी भन्छन्, ‘पार्टीभित्र सांगठनिक रूपमा दुवैजना उत्तिकै बलियो मानिन्छन् । कार्यकर्तालाई मिलाएर लिन सक्ने, निर्णय लिन सक्ने तथा पार्टी बाहिर पनि सम्बन्ध स्थापना गर्नमा दुवैजना उत्तिकै अब्बल रहेको कार्यकर्ताको बुझाइ छ ।’ 

बुढा ०७० सालको संविधान सभा सदस्य हुन् । शान्ति प्रक्रियापछि तत्कालीन नेकपा माओवादी विभाजनपछि बुढाले करिब आठ वर्ष बझाङ जिल्ला इन्चार्ज भएर काम गरेका थिए । मीनबहादुर कुँवर द्वन्द्वकालीन समयमा प्रवासबाटै जनयुद्धमा होमिएका थिए ।

कुँवर​र जनमुक्ति सेना, वाइसिएलको सुदूरपश्चिम प्रदेश संयोजक भएका थिए । त्यसैगरी एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर बनेको नेकपा बझाङ जिल्ला अध्यक्षसमेत हुन् । दुवैजनाले सशस्त्र द्वन्द्वबाट खारिएर आएको र लामो सांगठनिक अनुभव भएको हुनाले जसले टिकट पाए पनि देश, जनतालाई उक्तिकै फाइदा पुग्ने कार्यकर्ता बताउँछन् । 

प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा माओवादी केन्द्रको मताधार कमजोर भए पनि आकांक्षी नेताहरु भने आधा दर्जन देखिएका छन् । माओवादी केन्द्रले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा एउटा पालिका प्रमुख जितको छ । यस क्षेत्रबाट माओवादी नेताहरु शंकर खड्का, देवकी मल्ल, शान्ति नेपाली, हरि कुँवर, परमानन्द चिमाडी, भीम भण्डारी आकांक्षी छन् । 

७४ को प्रदेशसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धनबाट देवकी मल्लले यो क्षेत्रबाट चुनाव जितेकी थिइन् । शान्ति नेपाली प्रदेश सभातर्फ समानुपातिक सदस्य चयन भएकी थिइन् । शंकर खड्का, देवकी मल्ल, शान्ति​ नेपाली पार्टीको केन्द्रीय कमिटी सदस्य छन् भने परमानन्द चिमाडी, भीम भण्डारी प्रदेश कमिटी सदस्य हुन् । 

शंकर खड्का बझाङ माओवादीका संस्थापक नेता हुन् । ०६४ को निर्वाचनमा उनी बझाङबाट सांसद निर्वाचित भएका थिए । तर, माओवादी केन्द्र फुटेपछि उनी वैद्य हुँदै विप्लव नेतृत्वको माओवादीमा पुगेका थिए । उनी हालै मात्र पुनः माओवादी केन्द्रमा फर्किका छन् । 

संक्रमणकालीन अवस्थामा पार्टी निर्माण गर्नमा खड्काको महत्वपूर्ण योगदान छ । उनी हुँदाखाँदाको शिक्षकको सरकारी जागिर छोडेर जनयुद्धमा होमिएका थिए । तर, लामो माओवादी केन्द्रइतर समूहमा बसेको हुनाले उनको पार्टीभित्र कार्यकर्तासँगको सम्बन्ध ब्रेक भएको माओवादीपंक्तिको विश्लेषण छ । ‘उनको जनसम्पर्क पनि राम्रो छैन, संगठनमा पनि कमजोर छन् । टिकट पाउन मुस्किल पर्छ कि,’ एक कार्यकर्ताले भने ।

नेतृद्वय शान्ति नेपाली र देवकी मल्ललाई पुनः प्रदेशसभामा दोहोर्याउन नहुने तर्क माओवादी कार्यकर्ताले गर्छन् । ०७४ मा निर्वाचित भइसकेपछि दुवैजना नेतृले कार्यकर्ता रिझाउन नसकेको आरोप उनीहरुलाई लाग्ने गरेको छ ।

प्रदेश सभा निर्वाचन क्षेत्र (ख)मा नयाँ अनुहार आउनुपर्ने माग कार्यकर्ताको छ । भीम भण्डारी, परमानन्द चिमाडी तथा हरि कुवँरमध्ये कुनै एकजना आउँदा उपयुक्त हुने प्रदेश कमिटीस्तरीय एक नेताले बताए । तीनैजना जनयुद्धबाट आएका नेताहरु हुन् । 

हरि कुँवर ७० सालको निर्वाचनमा बझाङ क्षेत्र नं २ बाट उम्मेदवार भएका थिए । कुवँरले करिब सात हजार मत ल्याउँदा एमालेका एलबी रावले दश हजार मत ल्याएर विजयी भएका थिए । कुँवर ७४ को स्थानीय तहको निर्वाचनमा बुंगल नगरपालिका प्रमुखमा समेत उम्मेदवार भएका थिए । 

७४ को स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसका धनबहादुर विष्टसँग पराजित भएका थिए । चुनाव हार्ने निश्चित हुँदाहुँदै पनि पार्टीको निर्देशन पालना गर्नकै लागि पनि दुईपटक उम्मेदवार भएको ‘पीडित’ हुनाले कुँवरले नै टिकट पाउनै पर्ने कतिपय कार्यकर्ताको माग छ ।

  • प्रकाशित मिति : साउन ३०, २०७९ साेमबार २०:२३:१५,   अन्तिम अपडेट : भदौ २, २०७९ बिहीबार १५:५७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया