वनको हिरासतमा मृत्यु प्रकण : कुटपिटबाटै ज्यान गएको भन्दै आफन्तको ४ कर्मचारीविरुद्ध किटानी जाहेरी
के थियो घटना, के छ किटानी जाहेरीमा ?

डिजिजन वन कार्यालय सुर्खेतको हिरासतमा मृत्यु भएका व्यक्तिका आफन्तले कार्यालयका कर्मचारीविरुद्ध किटानी जाहेरी दिएका छन् । डिभिजन वन कार्यालय सुर्खेतका चार जना कर्मचारीविरुद्ध आफन्तले किटानी जाहेरी दिएका हुन् ।

बिहीबार डिभिजन वन कार्यालयको हिरासतमा वीरेन्द्रनगर–१३ निवासी ५९ वर्षीय धनीराम लामिछानेको मृत्यु भएपछि उनका छोरा उत्तम लामिछानेले किटानी जाहेरी दिएका छन् । 

लामिछानेले दिएको जाहेरीमा वीरेन्द्रनगर सव-डिभिजन कार्यालयका सहायक वन अधिकृत कृष्णराम धिताल, फरेष्टर सन्तोष खत्री, वन रक्षकद्वय पियुषराज तिवारी र सुरेन्द्र रानाविरुद्ध जन्मकैद, क्षतिपूर्तिसहितको सजाय माग गरिएको छ ।

जाहेरीमा उक्त घटनामा मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद १२ ज्यानसम्बन्धीका दफा १७७ बमोजिम कसुर भएको उल्लेख छ । मुलुकी अपराधसंहिताको दफा १७७ को उपदफा (२) बमोजिम ज्यान मार्ने नियतले कसुर गर्ने र गराउने व्यक्तिलाई जन्मकैदको सजाय हुने उल्लेख छ ।

हिरासतमा बिहीबार धनीराम लामिछानेको मृत्यु भएपछि उनका आफन्त आन्दोलित बनेका थिए । बिहीबार र शुक्रबार आफन्तले डिभिजन वन कार्यालय सुर्खेत परिसर अगाडि आफ्ना विभिन्न मागसहित धर्ना दिएका छन् । 

घटनाको छानबिनका लागि समितिसमेत गठन गरिएको छ । घटनाको छानबिन गरि सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । 



मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव प्रेमप्रसाद आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति समिति बनाइएको छ । 

के थियो घटना ?



बिहीबार वीरेन्द्रनगर–१३ स्थित धनीरामले सालको र'ख काटेको सूचना वन डिभिजनको कार्यलयमा पुग्छ । सूचना पाएलगत्तै तत्काल वीरेन्द्रनगर सव–डिभिजन वन कार्यालयको टोली उक्त स्थानमा पुग्छन् र लामिछानेकी श्रीमती वलीसरालाई नियन्त्रणमा लिन्छन् । 

उक्त स्थानमा पुगेका सहायक वन अधिकृत कृष्णराम धिताल र वन रक्षक सुरेन्द्र राना फर्किन्छन् । फरेष्टर सन्तोष खत्री र वन रक्षक वियुषराज तिवारी त्यही नै बस्छन् ।

केही समयपछि वन कार्यालयको गाडी पुनः सो स्थानमा आइपुग्छ । सूचनाका आधारमा लामिछाने घर फर्किएको पत्तो पाएपछि उनलाई समेत पक्राउ गरि वन कार्यालयका कर्मचारीले कार्यालयमा ल्याउँछन् ।

पक्राउका समयमा वनका कर्मचारीले कागजपत्रमा हस्ताक्षर गर्न लगाएको तर मृतक धनीरामले नमानेको उनका आफन्तको भनाइ छ । सो क्रममा धनीराम हिँड्न खोजेको र वनका कर्मचारीले पक्राउ गर्ने क्रममा हातपात गरेको आफन्तले दिएको जाहेरीमा उल्लेख छ । पक्राउ गरी वन कार्यालयको गाडीमा ल्याउँदै गर्दासमेत हातपात गरेको मृतकका आफन्तको भनाइ छ ।

'डिभिजन वन कार्यालय आएपछि वलीसरालाई बाहिर निकाली मृतक धनीरामलाई कोठाभित्र राखिन्छ । कार्यालयका कर्मचारी कागजपत्रसहित थुना कोठामा पस्छन् । ‘ए बड्डा, ए बड्डा’ बोलिएको आवाज बाहिरसम्मै आउँछ, जाहेरीमा उल्लेख छ । बाहिर रहेकी वलीसरालाई थुनाभित्रको वातावरणबारे कुनै जानकारी नै छैन । सोलगत्तै कर्मचारी बाहिर निस्कन्छन् । केही समयमा प्रहरी त्यहाँ पुग्छ' जाहेरीमा लेखिएको छ । 

प्रहरी आएको १५ मिनेटपछि आफन्तले धनीरामको मृत्यु भएको खबर पाएको मृतकका छोरा उत्तमले दिएको जाहेरीमा उल्लेख गरेका छन् ।

यसका साथै पक्राउ पुर्जीबिना पक्राउ गरी ल्याइएको, स्वास्थ्य परीक्षणसमेत नगराई हिरासतमा राखिएकोलगायत कर्मचारीमाथि आरोप छ । मृतक धनीरामको शव थुनाकक्षमा भुण्डिएको अवस्थामा फेला परेको थियो । 

डिभिजन वन कार्यालयका अनुसार मदन भण्डारी राजमार्गमा पर्ने जंगलमा नम्बरिङ गरिएको रुख काटेको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।

  • प्रकाशित मिति : भदौ ३, २०७९ शुक्रबार १९:३४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया