logo-img

मानसिक तनावका कारण क्रिकेटमा फर्किन सक्दैन भन्ने डर थियो : बेन स्टोक्स

इंग्लिस टेस्ट टोलीका कप्तान बेन स्टोक्सले मानसिक तनावका कारण केही समयमका लागि क्रिकेट नै छाड्नु पर्‍यो । सन् २०२१ को जुलाईदेखि झण्डै ५ महिना अन्तर्राष्ट्रिय क्रिकेटबाट विश्राम लिएका उनले आफूले भागेको मानसिक समस्या बिबिसीमार्फत सार्वजनिक गरेका छन् । बिबिसीले तयार पारेको डकुमेन्ट्रीका अनुसार त्यो विश्रामको प्राथमिकता स्टोक्स मानसिक तनावबाट मुक्त भएर पूर्ववत् रूपमा क्रिकेटमा फर्कनु थियो । 

उनले त्यतिबेला अब कहिल्यै क्रिकेटमा फर्कन नसक्ने हो की भन्ने डर लागेको पनि बताएका छन् । ३१ वर्षीय अलराउन्डर स्टोक्सले लामो समय आफ्नो मानसिक तनाव लुकाए । तर, तनाव बढी भएपछि उनले क्रिकेटबाट नै विश्राम लिए । ‘मैले एउटा काँचको बोतलमा आफ्नो भावनाहरू थुपार्दै गएँ,’ डकुमेन्ट्रीमा उनले भनेका छन्, ‘पछि त्यो भरिएर फुटेजस्तै भयो ।’

पछिल्ला केही वर्षमा उनको जीवनमा धेरै उतारचढाव आएको छ । मारपिटको आरोपमा मुद्दा मामिला, बुबाको निधन, खेलका क्रममा भाँचिएको औँला, क्रिकेट टोलीमा परिवर्तन, टोली नेतृत्वको जिम्मेवारी । यी सबै सहेका स्टोक्स भन्छन्, ‘म एक उत्तरी बहादुर केटोको परिचय त्याग्न चाहन्छु । हो म बहादुर छु होला तर मलाई पनि मानसिक तनाव हुन्छ ।’

इंग्लिस तीव्र गतिका बलर स्टुअर्ट बोर्डले भनेका केही कुराले स्टोक्सकोे आँखा खोल्यो । स्टुअर्टले मानसिक तनाव पनि एक ठूलो समस्या हो भन्दै यसले क्रिकेट खेल्नै नसक्नेसम्म हुने बताएका थिए । स्टोक्सले भनेका छन्, ‘मैले मेरो गाह्रो समयमा उनीसँग धेरै कुरा खोलेको पनि थिएन । मैले सत्य कुरा खासै व्यक्त गरेको थिएन । तर, उनको कुराले मलाई मेरो बाटो देखाएको अथवा आँखा खोलेको भान भयो ।’

उनलाई टेस्ट कप्तान बनाइएको थियो । केही समयको लागि विश्राम लिने भन्दै गर्दा स्टोक्सको बारेमा नकरात्मक टिप्पणी भए । उनलाई यस कुराले पनि आघात पु¥याएको रहेछ । ‘मैले काम गर्न नसकेर अथवा जिम्मेवारीबाट भाग्न विश्राम लिन लाग्यो भन्ने अर्थ लगाए । यसले मलाई नराम्रो लाग्यो’, उनले भने, ‘कप्तान हो भन्दैमा जे पनि सहनु पर्छ, गर्न सक्नुपर्छ भन्ने त छैन नि !’

बुबालाई प्रयाप्त समय दिन नपाएको पछुतो



बुबा गेड नै स्टोक्सको जीवनको सबैभन्दा ठूलो प्रेरणा थिए । उनका बुबा न्यूजिल्याण्डका पूर्वरग्बी अन्तर्राष्ट्रिय खेलाडी थिए । स्टोक्सले आफ्ना पिता नै आफ्नो सफलता पछाडिको नायक भएको बताए, ‘मलाई स्थापित गर्न उहाँको नै हात थियो ।’

गेडको सन् २०२० मा मस्तिष्कको क्यान्सरका कारण निधन भएको थियो । आफ्ना बुवाका बारेमा उनले थप भने,‘मेरा बुवा मेरा प्रेरणा हुनुहुन्थ्यो जसले दुनियाँ अनि मलाई छोडेर जानुभयो । मैले मानिसहरुलाई चिनाउन पाएँ उहाँ मेरो लागि बुवामात्र नभइ मेरो प्रेरणाका पात्र हो भनेर । यसमा मलाई निकै गर्व लाग्छ ।’



बुवाकै कारण आज कप्तान जस्तो ओहोदमा पुगेको बताए । बुबालाई प्रयाप्त समय दिन नपाएकोमा उनलाई पछुतो लागिरहेको छ । भलै बुवाको अन्तिम अवस्थामा उनले क्रिकेट छाडेर बुवासँगै समय बिताएका थिए । ‘मेरो खेल हेरेर, तिमीले राम्रो गर्दैछौं भन्ने सन्देशसमेत लेख्न नसक्ने हुँदा पनि म उहाँसँग थिइनँ’, उनले भने, ‘उहाँ कुर्सीमा बसेर क्यान्सरसँग लडेर अन्तिम समयमा पुग्दा पनि उहाँ मेरो जिन्दगीका बारेमा सोच्नुहुन्थो ।’

ब्रिस्टल घटनाको असर सन्तानलाई पर्ने डर

यो सन् २०१७ को कुरा हो, उनलाई व्रिस्टलको एक नाइट क्लब अगाडि कुटपिट गरेको आरोप लागेको थियो । एक वर्षपछि उनलाई अदालतले सफाइ दियो । तर त्यसपछि केही समय उनी इंग्लिस टोली बाहिर रहनुलाई यही घटनासँग जोडेर हेरियो ।
श्रीमती क्लेअरले त्यतिबेलै भनेकी थिइन्, ‘यो काण्डको सुनुवाइ भए पनि यसको प्रभाव लामो समयसमम रहिरहन्छ ।’ यो घटनाले ११ वर्षे वैवाहित सम्बन्धमा असर नगरे पनि सन्तानमा नकरात्मक प्रभाव पर्छ कि भनेर स्टोक्स चिन्तित छन् ।
‘ब्रिस्टलको घटनाले मेरो जीवनमा प्रभाव पारिरहने छ, हामीले यसबारे बच्चाहरुलाई सबैकुरा भन्नुपर्छ । ता कि मानिसहरुले सोधेको कुरा उनीहरुले हामीलाई घरमा आएर फेरि सोध्न नपरोस’, उनले भने ।

ब्रिस्टल घटनाको सुनुवाइकै क्रममा इंग्ल्याण्डका लागि खेले पनि उनी तनावमुक्त भने थिएनन् । ‘ड्रेसिङ रुममा रमाइलो हुन्थ्यो, तर जब म आफ्नो कोठामा पुग्थेँ, त्यति बेला एकदमै एक्लो महशुस हुन्थ्यो’,स्टोक्सले भने,‘त्यसैले मलाई होटल छाडेर आफ्नो कोठामा आउनै मन लाग्दैन थियो ।’ बिबिसीबाट साभार 


 

  • प्रकाशित मिति : भदौ ८, २०७९ बुधबार ११:८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया