logo-img

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालयको पहिलो ट्रेनिङ फ्लाइट

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार हिमालय एयरलाइन्सले पाइलटको ट्रेनिङ फ्लाइट गरेको छ । निर्माण सम्पन्न भई सञ्चालनमा आएको ३ महिनापछि अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली वायुसेवा कम्पनी हिमालयले बिहीबार अपरान्ह १२ बजेदेखि साँझ ५ बजेसम्म पाइलटहरूको ट्रेनिङको लागि परीक्षण उडान गरेको हो ।

पहिलो पटक भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रेनिङको लागि बिहान १२ बजे ९९५ विमानले अवतरण गरेको छ । काठमाडौंबाट पाइलटहरू मात्र बोकेको हिमालयको जहाज भैरहवामा ५ बजेसम्म रहने विमानस्थल प्रशासनले जानकारी दिएको छ । भैरहवाबाट आएको जहाज ट्रान्जिट उडानका रुपमा अवतरण गरेको हो ।

यो विमानस्थल सञ्चालनमा आएपछि पहिलो पटक हिमालय एयरलाइन्सको जहाज भैरहवा आएको हो । अहिले जजिरा एयरवेजले मात्र अन्तर्राष्ट्रिय उडान गर्दै आएको भैरहवा विमानस्थलका प्रमुख गोविन्द दाहालले भने, ‘यहाँबाट सफलतापूर्वक सम्पन्न गरी गएको र सबै कुरा राम्रो भन्ने आएकोले भविष्यमा हिमालय एयरलाइन्सले पनि यहाँबाट उडान गर्ने सम्भावना छ ।’

महङ्गो मानिएको यो तालिम नेपाली एयरलाइन्सहरूले यसअघि प्राय: भारतको बनारसमा गर्ने गरेका थिए । जहाजहरूले आफ्नो उड्ने र ओर्लने गन्तव्यभन्दा बाहिर (बेसभन्दा बाहिर) लगेर पाइलटलाई तालिम दिनुपर्ने हुन्छ । जसले विदेश जाने ठूलो धनराशिसमेत जोगिने भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुरेश झाले भने, ‘यस्ता तालिम नभए पाइलटहरू तयार हुन सक्दैनन् र क्याप्टेन हुन सक्दैनन् । धेरै महङ्गो हुने भएकोले समूहमा यो तालिम गर्ने गरिएको छ ।’  





  • प्रकाशित मिति : भदौ १०, २०७९ शुक्रबार १२:१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया