logo-img

बझाङको दौलिचौरमा बल्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली

बझाङको सुर्मा गाउँपालिका वडानं १ दौलिचौरमा राष्ट्रिय प्रसारण लाइन जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरण चैनपुर वितरण केन्द्रबाट दौलिचौरमा विद्युत जडान कार्य सम्पन्न भएपछि शनिबार उद्घाटन गरिएको छ ।

चालू आर्थिक वर्षको सम्पूर्ण बजेट विद्युत् जडानमा लगानी गरेर आफू निर्वाचित भएको तीन महिनाभित्र वडामा राष्ट्रिय प्रसारण लाइनको विद्युत जडान गरिएको वडाध्यक्ष दिनेश बोहराले जानकारी दिए । 

स्थानीयको साथ,  प्राधिकरणको सहयोग र गाउँपालिकाले गरेको प्रभावकारी समन्वयले गर्दा विद्युत जडान गर्न सफल भएको उनी बताउँछन् । 

स–साना योजना बनाएर प्रभावकारी विकास गर्न नसकिने भएकोले दीर्घकालीन काममा वडाको बजेट खर्च गरेको वडाध्यक्ष बोहरा बताउँछन् । उनले भने, ‘‘हाम्रो कार्यकालमा स्थानीयका आधारभूत आवश्यकता र समस्यालाई दीर्घकालीन तरिकाले समाधान गर्न प्रयास गर्ने छौँ ।’ 

स–साना योजना बनाएर बजेटको सदुपयोग नहुने भन्दै उनले युवाहरुले नै देखिने काम गर्ने बताए । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा विद्युत प्राधिकरणका पदाधिकारीको राम्रो समन्वयले गाउँमा विद्युत बाल्न सफल भएको उनको भनाइ छ । 

सुर्मा गाउँपालिकामा बिजुली बत्ती बलेपछि स्थानीय हर्षित भएका छन् । बत्ती आए पछि बैंकबाट स्थानीयलाई सहजै सेवा दिन सकिने बैंकका कर्मचारी बताउँछन् । 



उद्घाटन कार्यक्रमको क्रममा बोल्दै नेपाल विद्युत प्राधिकरण बझाङका कार्यालय प्रमुख हरिचन्दराय यादवले जिल्लाभरि नै चाँडै राष्ट्रिय प्रसारण लाइन बिस्तार गरिने बताए । गत वर्षको विनाशकारी बाढीपहिरोले गर्दा लाइन बिस्तारमा प्रभाव परेको उनले बताए । नेपाल सरकार र विद्युत प्राधिकरणको लक्ष्यअनुरूप अबको २ वर्षभित्र जिल्लाभरका सबै जनतालाई उज्यालो युक्त बनाउने लक्ष्य रहेको छ ।

गाउँमा विद्युत सञ्चालन भएपछि गाउँपालिकामा विकासका लागि टेवा पुग्ने, साना ठूला उद्योगधन्दाहरू सञ्चालन गर्न सकिने र वर्षौंपहिले देखेको सपना साकार हुने सुर्मा गाउँपालिका अध्यक्ष खड्क बोहराको भनाइ छ ।



  • प्रकाशित मिति : भदौ ११, २०७९ शनिबार २१:२४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया