logo-img

विद्यार्थीसँग चर्को शुल्क लिएको विषयमा सरकारले अनुगमन गर्छ : शिक्षामन्त्री पौडेल
फाइल तस्वीर

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयले कक्षा ११ र अन्य तहका विद्यार्थीसँग चर्को शुल्क लिएको विषयमा सरकारले अनुगमन गर्ने बताएका छन् । आइतबार नेपाली विद्यार्थी संघले समग्र शैक्षिक विकासका लागि तात्कालीक तथा संरचनागत समस्या सम्बोधन गर्न मागसहितको ज्ञापन–पत्र ग्रहण गरेपश्चात् मन्त्री पौडेलले यस्तो बताएका हुन् । 

मन्त्री पौडेललाई विद्यार्थी संघले २९ बुँदे मागसहित ज्ञापन-पत्र बुझाएको छ । मन्त्री पौडेलले संघको ज्ञापन-पत्रमा माग गरिएको पछिल्लो समयमा विद्यालयले विद्यार्थी भर्नामा चर्को शुल्क लिएको विषयमा अनुगमन गर्ने तयारीमा रहेको बताए । उनले संघले उच्च शिक्षामा पनि बेथिति रहेको सुझाव दिएको भन्दै उच्च शिक्षामा रहेका समस्या समाधान गर्न मन्त्रालय गम्भीर रहेको बताए । 

मन्त्री पौडेलले उच्च शिक्षामा विदेशका विश्वविद्यालयबाट मान्यता प्राप्त भएर विद्यालय सञ्चालन भए/नभएको अनुगमन गरी छानबिन गर्ने बताए । उनले छात्रवृत्तिको विषयमा लक्षित विद्यार्थीले नपाएको धेरै गुनासो आएकाले छात्रवृत्तिमा पनि लक्षित विद्यार्थीले पाए/नपाएको छानबिन गरिने बताए । 

उनले छात्रवृत्ति सरकारी विद्यालयभन्दा पनि निजी विद्यालयले दिएको भन्नेमा आएको तर नदिने गरेको भेटिएको बताए । मन्त्री पौडेलले छात्रवृत्ति पाउने लक्षित वर्ग छुट्याउने काम स्थानीय तहको भएकाले स्थानीय तहसँग सम्झौता हुने भएकाले स्थानीय निकायलाई सुझाव दिनुपर्ने बताए । 

मन्त्री पौडेलले पछिल्लो समय त्रिभुवन विश्वविद्यालयमा पढ्ने विद्यार्थीभन्दा पनि नपढ्ने विद्यार्थीको माग पूरा गर्न नसकेको गुनासो आएको बताए । उनले संघले त्यस विषयमा गम्भीरतापूर्वक मनन गर्नुपर्ने बताए । उनले त्रिविमा तालाबन्दी सदाका लागि अन्त्य गर्नुपर्ने बताए । 

त्यस्तै, नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले भर्खरै सम्पन्न एसईई परीक्षा उत्तीर्ण भएर कक्षा ११ मा भर्ना भएका विद्यार्थीको विद्यालयले भर्ना शुल्क ५० प्रतिशत छुट गर्न माग गरे । उनले कोरोना महामारीको मारमा परेका विद्यार्थीका अभिभावकलाई विद्यालयको भर्ना शुल्कको नाममा लुट्ने काम गरेको दाबी गरे । 



शेर्पाले विद्यार्थीबाट विद्यालयले चर्को शुल्क लिएर लुट्दासमेत विद्यार्थी संगठन र शिक्षा मन्त्रालय मूकदर्शक भएर बसेको बताए । उनले विद्यालयले दिने छात्रवृत्तिमा मन्त्रालयको नीतिभन्दा बाहिर गएर कक्षा ११, १२ वा स्नातक तहमा समेत लक्षित वर्गभन्दा बाहिरका विद्यार्थीले पाउने गरेको बताए । 

संघले शिक्षा मन्त्रीलाई एक महिनाभित्र चर्को शुल्क लिने विद्यालयलाई कारबाही गरी कक्षा ११ मा भर्ना हुने विद्यार्थीका लागि ५० प्रतिशत छुटको व्यवस्था गर्न मागसहित अन्य २९ बुँदे माग राखेर ज्ञापन-पत्र बुझाएको छ ।



  • प्रकाशित मिति : भदौ १२, २०७९ आइतबार १५:४०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया