गगन थापाको दाबी : अफताव आलमलाई कांग्रेसले उम्मेदवार बनाउँदैन

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कारागारमा रहेका कांग्रेस नेता अफताव आलमलाई आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा सांसदको उम्मेदवार नबनाउने दाबी गरेका छन् ।

शुक्रबार लेखक रामलाल जोशीको सिर्जनात्मक आख्यान बाआमा लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कुनै ठाउँबाट आगामी निर्वाचनका लागि आलम सिफारिस भए पनि कांग्रेसले उम्मेदवारी नबनाउनेमा विश्वस्त रहन आग्रह गरे । 

महामन्त्री थापाले आफूहरू पार्टीमा रहुन्जेल छाती ठोकेर मैले निर्णय गरेको हुँ भन्ने हैसियत नभएका कुराहरू पार्टीबाट नहुने बताए । उनले संविधानले वर्जित गरेको काम पार्टीबाट नहुने दाबी पनि गरे । 

‘इँटाभट्टामा मान्छे जलाएको अभियोग लागेकालाई कांग्रेसले उम्मेदवार बनाउँदैछ, यसका बारेमा पनि हामीले कथा लेख्ने दिन आउँदैछ’ भन्ने साहित्यकार नयनराज पाण्डेको अभिव्यक्तिपछि महामन्त्री थापाले नैतिकताको कसीमा राख्दा मैले यो निर्णय गरेको हुँ भन्न नसक्ने नर्णय आफूआवद्ध हुँदासम्म पार्टीबाट नहुने बताए ।

उनले भने, ‘नायनराज दाइले गगन थापाको पार्टीले भन्नुभयो, उहाँ पनि यही पार्टीमा काम गर्नुभएको हो पहिला । संविधानले, विधानले वर्जित गरेको मात्र होइन, नैतिकताको कसीमा राखेर हेर्दा छाती ठोकेर मैले गरेको हो यो निर्णय, हामीले गरेको हो भनेर भन्न नसक्ने कुनैपनि निर्णय हामी भएको ठाउँबाट हाम्रो पार्टीले गर्दैन, यत्ति कुरा म तपाईंलाई आवश्वस्त पार्दछु ।’

महामन्त्री थापाले नियम र कानुनले मात्रै समाज नचल्ने र समाच चल्नका लागि प्रेम र करुणा चाहिने पनि बताए ।





  • प्रकाशित मिति : भदौ १७, २०७९ शुक्रबार १८:४५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया