जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लगाउने किशोरीको स्वास्थ्य परीक्षण गरिएको जनाएको छ ।
१७ वर्षीया किशोरीले मंगलबार प्रहरी वृत्त गौशालामा लामिछाने आफूलाई बलात्कार गरेको भन्दै उजुरी दिएकी थिइन् । त्यसपछि प्रहरीले उनको स्वास्थ्य परीक्षण गरेको हो ।
‘प्रहरीद्वारा उक्त जाहेरी दरखास्त दर्ता गरी पीडितलाई एकद्वार संकट व्यवस्थापन केन्द्रमा लगी विस्तृत स्वास्थ्य परीक्षण गराइएको,’ जिल्ला प्रहरी परिसर काठमाडौंले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उजुरीमा ती नाबालिगले गत भदौ ५ गते काठमाडौं र भक्तपुरको विभिन्न स्थानहरूमा लगी काठमाडौं ल्याई रातको अन्दाजी ११ः५५ बजे काठमाडौं महानगरपालिका–९ स्थित एक होटलको कोठा नं. ३०५ मा लामिछानेले आफूलाई राखेको बताएकी छन् ।
भदौ ६ गते राति अन्दाजी १२ः२५ बजेसम्म पटकपटक बलात्कार गरेको उनले उजुरीमा जनाएकी छन् । अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीद्वारा उक्त घटनामा सुक्ष्मरुपमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।