फेसबुकबाट यसरी पत्ता लागे मोबाइल लुट्ने पूर्व प्रहरी असई र हवल्दार

नेपाल प्रहरीका पूर्व असई र हवल्दार उपत्यकामा ‘लुटपाट’ मच्चाएको आरोपमा पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले पूर्व असई बाल सुन्दर सापकोटा र पूर्व हवल्दार अर्जुन कार्कीलाई लुटपाटमा संलग्न रहेको भन्दै पक्राउ गरेको हो । 

काठमाडौंको नयाँबानेश्वरस्थित कात्यानी चोकमा रहेको एक मोबाइल पसलमा आइतबार भएको लुटपाटपछि यस्तो रहस्य बाहिर आएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार आइतबार राति  ‘लुटपाट’ भएको थियो । उक्त पसलबाट तीन वटा आई फोन मोबाइल लुटिएका थिए । 

घटनाका सम्बन्धमा उजुरी परेपछि प्रहरीले आफ्नै पूर्व अफिसरहरूलाई घटनामा संलग्न भएको भन्दै आइतबार राति पक्राउ गरेको थियो । पीडितका अनुसार घटनामा तीन जना संलग्न रहेका थिए । दुई जनाभित्र आएको र एक जना बाहिर बसेको पीडितले बताएका छन् । 

पसलमा मोबाइल लुटपाट हुँदै गर्दा उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायव निरीक्षक (सई) मुन सापकोटा पसल बाहिर रहेको बताइएको छ । अपराध अनुसन्धान कार्यालयले लुटमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । तेस्रो व्यक्तिका विषयमा खोजी र अनुसन्धान भइरहेको प्रहरी उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए ।

प्रहरी स्रोतका अनुसार खोज तथा खानतलासी गर्ने क्रममा उनीहरूको घर कोठाबाट लुटपाट गरिएका तीन वटै मोबाइल फोनका साथै सुन, पेस्तोल र गोली बरामद भएको छ ।

यसरी पक्राउ परे पूर्व प्रहरी अफिसर
कात्यानी चोक स्थित कपिल श्रेष्ठले सञ्चालन गरेको पसलमा उनीहरूले अनलाइन बिक्रीमा राखेको मोबाइल मन परेन भन्दै नयाँ देखाउन आग्रह गरे । कपिलले आफैँले चलाएको मोबाइल पनि बिक्री गर्ने भनेपछि उनीहरूले बिल देखाउन आग्रह गरे । त्यसपछि उनीहरूलाई कपिलले भने –‘विदेशबाट पठाइदिएको हो, बिल छैन ।’ त्यसपछि ती ग्राहकले आफू प्रहरी भएको भन्दै तीन वटा आई फोन लिएर गए । 



लुटेराहरूले नक्कली पेस्तोल समेत देखाए । कपिललाई उनीहरूले एउटा नम्बर दिएका थिए । सो नम्बरमा कपिलले फोन गर्दा प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरीले रिसिभ गरेका थिए । फेसबुकमा बाल सुन्दर सापकोटा र अर्जुन कार्कीको नामबाट मोबाइल किनबेचको बारेमा कपिलसँग कुरा भएको थियो ।  

कपिलले सोह्रखुट्टेमा फोन गरेर बाल सुन्दर सापकोटा र अर्जुन कार्की त्यहाँ कार्यरत हुनुहुन्छ भनेर सोधे । ती नामका प्रहरी सोह्रखुट्टेमा कार्यरत नभएको जवाफ आएपछि कपिलले बानेश्वर प्रहरीलाई खबर गरेर घटनाबारे जानकारी गराएका थिए । 



सोही फेसबुक प्रयोगकर्तालाई पछ्याउँदै जाँदा पूर्व प्रहरी असई बाल सुन्दर सापकोटा र पूर्व हवल्दार अर्जुन कार्कीलाई लुटपाटमा संलग्न रहेको भन्दै पक्राउ गरेको थियो । 

प्रहरीका पूर्व असई र हवल्दारको संलग्नतामा उपत्यकामा ‘लुटपाट’

  • प्रकाशित मिति : भदौ २८, २०७९ मंगलबार १५:१:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया