logo-img

म्यादी प्रहरी : लमजुङमा १७८६, चितवनमा ३८३० जनाको आवेदन

लमजुङमा करिब २ हजार जनाले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा चुनावको सुरक्षाका लागि खटाइने म्यादी प्रहरी पदमा जिल्लाका १ हजार ७ सय ८६ जनाको आवेदन परेको हो । 

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार १ हजार ३ सय ४० जना पुरुष र ४ सय ४६ जना महिलाले आवेदन दिएका छन् । भदौ ३० गतेबाट असोज ६ गतेसम्म आवेदन खुलाइएको थियो । 

लमजुङमा जिल्ला प्रहरी कार्यालय लमजुङ, इलाका प्रहरी कार्यालय भोटेओडार, इलाका प्रहरी कार्यालय भोर्लेटार र प्रहरी चौकी तीनपिप्लेबाट आवेदन संकलन भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक सूचना अधिकारी जगदिश रेग्मीले बताए । उनका अनुसार अन्तिम दिन बिहीबार मात्रै २ सय ८० जनाले आवेदन दिएका छन् ।

पुरुष २ सय २० र महिला ६० जनाले आवेदन दिएको प्रहरीले जनाएको छ । म्यादी प्रहरी छनोटमा यसअघिका चुनावमा म्यादी प्रहरीमा छनोट भई सन्तोषजनक काम गरेकालाई मुख्य प्राथमिकतामा राखिने जनाएको छ । 

असोज ७ गते शुक्रबार सम्पर्क मिति तोकिएको छ । छनोट भएका म्यादी प्रहरीको कार्यअवधि ४० दिनको हुनेछ । प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था गरेको थियो । 

त्यसैगरी म्यादीका लागि चितवनमा तीन हजार ८३० जनाले आवेदन दिएका छन् । आठ दिनको अवधीमा दुई हजार ७०९ पुरुष र एक हजार १२१ महिला गरी जम्मा तीन हजार ८३० जनाले म्यादी प्रहरीका लागि आवेदन दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । 



शारीरिक अभ्यास, लिखित परीक्षा र अन्तरवार्तालगायतमा पास भई निर्धारित मापदण्ड पूरा गरेका आवेदकलाई म्यादी प्रहरीमा छनोट गरिने उनले बताए ।प्रहरी प्रधान कार्यालयले अझै पनि चितवनको लागि म्यादी प्रहरीको कोटा भने खुलाएको छैन । 

कोटा विवरण नखुलाइँदा कति आवेदक छनोटमा पर्ने हुन भन्नेमा अन्योल सिर्जना भएको छ । वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा जिल्लामा एक हजार ७०९ म्यादी प्रहरी भर्ना गरिएको थियो । म्यादी प्रहरीको लागि आवेदन दिने समय सकिएको छ । म्यादी प्रहरीको लागि भदौ ३० गतेदेखि असोज ६ गतेसम्म आवेदन दिने समय थियो ।



म्यादीका लागि आवेदन दिएकाको शारीरिक तन्दुरुस्ती परीक्षा भोलि (आइतबार)देखि हुँदै छ । नारायणगढ क्याम्पा चौरमा परीक्षा हुने प्रहरी कार्यालयले जानकारी दिएको छ । पूर्व सुरक्षाकर्मी र स्थानीय तहको निर्वाचनका म्यादी प्रहरीले भने तन्दुरुस्ती परीक्षा दिनु नपर्ने कार्यालयले जनाएको छ । उनीहरुको हकमा अन्तर्वार्ताको सूचना प्रकाशित गरिने बताइएको छ ।

निर्वाचन सुरक्षाका लागि सरकारले देशभरबाट एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्दै छ । आवेदन दिएकालाई छनौट गर्ने काम असोज ९ गतेदेखि १४ गतेसम्म हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । छनौटको अन्तिम नतिजा असोज २५ गते प्रकाशित गर्ने कार्यतालिका छ । म्यादीका लागि छनौटमा भएकालाई असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म तालिम दिइनेछ । म्यादी प्रहरीलाई निर्वाचनमा ४० दिन खटाइनेछ ।

म्यादी प्रहरीले प्रतिदिन ८६९ रुपैयाँका दरले ४० दिनको ३४ हजार ७६० रुपैयाँ पारिश्रमिक, खाद्यान्न बापत प्रतिव्यक्ति एकमुष्ट सात हजार २०० रुपैयाँ, पोशाक तथा अन्य सामान खरिद गर्न छ हजार, तयारी खर्च बापत एक हजार र प्रतिदिन ३०० रुपैयाँका दरले ४ दिनको एक हजार २०० रुपैयाँ खाजा खर्च गरी जम्मा ५० हजार १६० रुपैयाँ पाउने छन् ।

  • प्रकाशित मिति : असोज ८, २०७९ शनिबार २२:१९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया