आचारसंहिता उल्लंघन गर्ने सरकारी कर्मचारी तथा शिक्षकमाथि कारबाही सुरु

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने सरकारी कर्मचारी तथा शिक्षकमाथि कारबाही सुरु गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । 

‘आचारसंहितामा ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार–प्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने र सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसार सामग्री पोष्ट वा सेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने व्यवस्था गरिएको छ  । 

उक्त व्यवस्था उल्लंघनकर्तालाई निर्वाचन आयोग, ऐन २०७३ को दफा २३ बमोजिम स्पष्टीकरण सोधी आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको अवगत गराइन्छ,’ आयोगले विज्ञप्तिमा भनेको छ । 

निर्वाचन आचारसंहिता, २०७९ को अनुगमन गर्दा आचारसंहिताको प्रतिकूल हुने गरी कतिपय सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकहरु राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्ग्न भएको पाइएको आयोगले जनाएको छ । 

‘त्यसरी प्रचारप्रसारमा संलग्ग्न कर्मचारी तथा शिक्षकहरुले उम्मेदवारसँग तस्बिर खिचाई बधाई र शुभकामना दिने, राजनीतिक दल र उम्मेदवारका प्रचार सामग्रीको सयर र लाइक गर्ने गरेका घटना अनुगमनका क्रममा पाइएकाले आयोगले आवश्यक कारबाही प्रारम्भ गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ । 

निर्वाचन आचारसंहिता, २०७९ मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षक, सरकारी वा गैह्रसरकारी निकायबाट सञ्चालित परियोजना, विकास समिति तथा सोका कर्मचारीले पालना गर्नुपर्ने आचारणबारे स्पष्ट व्यवस्था गरिएको छ । 





  • प्रकाशित मिति : असोज २५, २०७९ मंगलबार १७:५६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया