logo-img

रुपन्देहीको उम्मेदवारी खारेजबारे के भन्छन् निर्वाचन आयुक्त ?

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका डा. कमल भुसालको उम्मेदवारी खारेजीबारे मुख खोलेका छन् । निर्वाचन आयुक्त भण्डारीले यसको निर्णय निर्वाचन अधिकारीको हातमा रहेको बताए । 

उम्मेदवारी दिएको व्यक्ति योग्य हो वा होइन भन्ने कुराको निर्णयको अधिकार निर्वाचन अधिकृतलाई रहेको भन्दै उनले निर्णय भइसकेको कुरालाई आयोगले क्षेत्राधिकार मिचेर यही हुनुपर्छ भन्न नमिल्ने बताए । कानुनी रुपमा उपचार खोज्न आएको खण्डमा भने आधिकारिकता आइसकेपछि अदालत वा निर्वाचन आयोगको क्षेत्राधिकार कुनमा पर्छ त्यहीअनुसार कानुनी कारबाही हुने भण्डारीले बताए । 

न्यायाधीशहरु नै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतहरु भएको उल्लेख गर्दै उनले प्रमाण संकलन, मूल्यांकन गर्ने, प्रमाणको विश्लेषण गर्ने र त्यो प्रमाणको विश्लेषण गरी एउटा निचोडमा पुग्ने काममा त्रुटि हुन नसक्ने जिकिर गरे । निर्वाचनका लागि कानुनमा अभ्यस्त भएको व्यक्तिलाई नै पठाएको भन्दै उनले कानुन, ऐन, नियम, आयोगले बनाएको निर्देशिकालगायत सम्पूर्ण कारबाही हेरेर नै निष्कर्ष निकालेकोमा आयोग विश्वस्त रहेको बताए । 

निर्वाचन आयुक्त भण्डारीले सरकारको कोष वा सरकारको लगानी रहेको विभिन्न संस्था, निकायहरुको कोषबाट रकम बुझ्ने व्यक्तिहरुलाई आयोगले उम्मेदवारको लागि योग्य ठहर गर्न नसक्ने बताए । 

प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा रुपन्देही क्षेत्र नं २ बाट उम्मेदवारी दिएका डा. कमल भुसालको उम्मेदवारी खारेज भएको थियो । उनीविरुद्ध सरकारी सेवा लिएर अध्ययन जारी राखेको अवस्थामै निर्वाचनमा उम्मेदवार बनेको उजुरी थियो ।






  • प्रकाशित मिति : असोज २७, २०७९ बिहीबार १८:०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया