logo-img

५० लाखबराबरको खानेतेल चोरेर बेच्ने चारजना पक्राउ

५० लाख रुपैयाँ बराबरको खानेतेल बाटोबाटै चोरी गरेर बेच्ने ४ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

वीरगञ्जको पथलैया औद्योगिक करिडोरअन्तर्गत मनोकामना आयल फुड प्रोसेसिङ प्रालिमा उत्पादित खाने सम्बन्धित ठाउँमा नपुर्याई बाटोबाटै चोरी गरेर अन्यत्रै बिक्री गर्ने चारजनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरी सार्वजनिक गरेको हो । 

उद्योगले वीरगञ्जको अञ्जनी क्यारियर्समार्फत सिन्धुलीका कमलामाई नगरपालिकामा रहेको रोबिन सप्लायर्स लैजान प्रदेश २–०३–००१ ख ४८१२ नम्बरको ट्रकमा तेल लोड गरेर पठाएको थियो । तर, १ लिटरका १४ हजार ५६० र आधार लिटरका ५ हजार ९१५ पोका तेल ट्रकमा लोड गरेर पठाइए पनि तेल सिन्धुली पुगेको थिएन । सुन्धिलीमा दुई दिनसम्म तेल नपुगेपछि उद्योगले खोजी गरिदिन भन्दै असोज ३० गते जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएको थियो ।

उजुरी गरेको ५ दिनपछि बारा प्रहरीले चारजनासहित ट्रक र केही परिमाणमा तेल बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए । 

ट्रक चालक नुवाकोटको शिवपुरी गाउँपालिका १ घर भई काठमाडौं बस्ने ४३ वर्षका सुकमान तामाङलाई कल ट्रेस गरी कात्तिक ४ गते पक्राउ गरेको बोगटीले बताए । चालक तामाङले दिएको बयानका आधारमा घटनामा संलग्न अन्य तीनजना पक्राउ परेको प्रहरीको भनाइ छ । 

ट्रक चालक तामाङले सिन्धुली पुर्याउनुपर्ने तेल बाटोबाटै कुरा मिलाएर रौतहटको गौर नगरपालिका १ रमेश कुमारको घरमा भण्डारण गरेको भेटिएको पनि बोगटीले बताए । 



प्रहरीले भण्डारण गरेको घरबाट ट्रकमा लोड गरिएको भन्दा कम ३ हजार १ सय १७ लिटर मात्रै तेल फेला परेको छ । बाँकी तेल उनीहरुले बिक्री गरिसकेको प्रहरीले अनुमान गरेको छ । 

प्रहरीले रमेशका साथै रौतहटकै वृन्दावन नगरपालिका ६ हर्साहाका ३८ वर्षीय शेष कलाम र सोही गाउँपालिका ८ का ४७ वर्षका वैद्यनाथ साह तेलीलाई पक्राउ गरेको छ । उनीहरुलाई थप कारबाहीका लागि हिरासतमा राखिएको प्रहरीले बताएको छ ।



  • प्रकाशित मिति : कात्तिक ६, २०७९ आइतबार २०:४५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया