logo-img

प्रधानमन्त्री कपमा सुदूरपश्चिमविरुद्ध एपिएफ १० विकेटले विजयी

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपिएफ क्लबले दोस्रो जित हात पारेको छ । उसले आज सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा सुदूरपश्चिम प्रदेशलाई १० विकेटले हराउँदै प्रतियोगितामा दोस्रो जित हात पारेको हो । 

सुदूरपश्चिमले दिएको ६८ रनको झिनो लक्ष्य एपिएफले ११.२ ओभरमा कुनै पनि नगुमाइ विकेट भेट्टायो । उसका लागि अविजित रहेका आसिफ शेखले ३२ बलमा सात चौका र एक छक्कासहित ४२ तथा प्रदीप ऐरीले ३६ बलमा दुई छक्का र एक चौकाको मद्दतले २५ रन बनाए । 

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २७ ओभरमा सबै विकेट गुमाउँदै ६७ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान राजु रिजाललले सर्वाधिक २४ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

सुदूरपश्चिमलाई सस्तैमा समेट्न एपिएफका भुवन कार्कीले चार, मौसम ढकाल र कमलसिंह ऐरीले दुई/दुई तथा किशोर महतो र अमरसिंह रौटेलाले एक/एक विकेट हात पारे । 

यो जितसँगै २ खेलमा ४ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिँदा दुवै खेलमा पराजित सुदूरपश्चिम विना अंक पुछारमा छ । एपिएफले पहिलो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ५६ रनले हराउँदा सुदूरपश्चिम गण्डकी प्रदेशसँग ६९ रनले पराजित भएको थियो ।
 





  • प्रकाशित मिति : कात्तिक १५, २०७९ मंगलबार १३:४९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया