काठमाडौं– संघीय संसद् अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका समस्या अध्ययन गरी सुझाव दिन एक उपसमिति गठन गर्ने निर्णय गरेको छ । समितिका सभापति जयपुरी घर्तीको अध्यक्षतामा बुधबार बसेको बैठकले समिति गठन गरेको हो ।
समितिका सदस्य एवं पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारीको संयोजकत्वमा गठित सो उपसमितिमा सांसद अञ्जना विसङ्खे, गजेन्द्रबहादुर महत, एकल मिया र नविता चौधरी सदस्य रहेका छन् । सो अस्पतालमा कार्यरत कर्मचारी विसं २०७५ माघ २ गतेदेखि विभिन्न माग राखी आन्दोलित रहेका छन् ।
विसं २०१६ मा स्थापित तत्कालीन राप्ती अञ्चलको सबैभन्दा जेठो सो अस्पताललाई विस २०७४ असोज २९ गते प्रतिष्ठानमा रुपन्तारण गरिएको थियो । करिब २२ लाख जनसंख्याको विशेषज्ञ स्वास्थ्य सेवा केन्द्रका रुपमा सो अस्पताल रहेको छ ।
सो उपसमितिलाई प्रतिष्ठानमा देखिएका समस्या अध्ययन गरी सुझाब दिन १५ दिनको समयावधि तोकिएको छ । बैठकमा समितिका सदस्यद्वय अधिकारी, योगेश भट्टराईले स्वास्थ्यका सबै प्रतिष्ठानलाई नियमन गर्न एकीकृत स्वास्थ्य प्रतिष्ठान बनाउन र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्न स्वास्थ्य मन्त्रालयले विशेष पहल गर्न माग गरे ।
समितिका सदस्यद्वय उमेश श्रेष्ठ र उमाकान्त चौधरीले चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान (न्याम्स)को उपकुलपति पद खाली भएको पाँच महिना बितिसकेको भन्दै तत्काल उपकुलपति नियुक्ति गर्न माग गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।