logo-img

पाँच वर्षभन्दा पुराना मुद्दालाई हेर्न छुट्टै इजलास गठन गरिने
सांकेतिक तस्बिर

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पाँच वर्षभन्दा पुराना मुद्दालाई हेर्न छुट्टै इजलास गठन गर्ने बताएका छन् । नेपाल कानुन व्यवसायी परिषद्ले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले १३ वर्षदेखिको मुद्दाको चाङ न्यायालयमा रहेको उल्लेख गर्दै त्यसलाई सम्पादन गरेर पीडितलाई न्याय दिन सो व्यवस्था गर्न लागिएको बताए ।

‘धेरै पुरानापुराना १०, १२, १३ वर्षदेखिका मुद्दा हामी कहाँ सर्वोच्च अदालतमा छन् । सर्वोच्च अदालतमा भएको यो भारलाई हामीले कसरी कम गर्ने ? भन्ने कुरामा हामी पनि अत्यन्तै चिन्तित छौँ । न्याय नपाउने धेरैले रोदनक्रन्दन गरेर गरेर फर्कनु हुन्छ । यो खालको अवस्था हामीसँग छ,’ उनले भने, ‘यो अवस्थालाई हामीले कसरी कम गर्न सक्छौं होला त ? भन्ने हिसाबबाट अहिले हामीले पाँच वर्ष भन्दा पुराना मुद्दाहरूलाई अभियानमा राख्ने र त्यसका लागि छुट्टै इजलास गठन गर्ने व्यवस्था र त्यसमा अभियानमा परेका मुद्दाहरू चाहिँ स्थगितको लिस्टमा नपर्ने सुनिश्चित गर्ने कुराहरू हामीले गरेका छौँ ।’

उनले पुराना मुद्दालाई सल्टाउनका लागि आफूले त्यसलाई स्थगितको लिस्टमा नपर्ने गरी आवश्यक व्यवस्था मिलाएको पनि बताए । कायममुकायम प्रधानन्यायाधीश कार्कीले पुराना मुद्दाहरूलाई स्थगित नगरी प्राथमिकताका साथ अघि बढाउन कानुन व्यवसायीहरूलाई समेत गरे । उनले भने, ‘त्यसमा हामीले सबै कानुन व्यवसायी मित्रहरूसँग आग्रह पनि गरेका छौँ कि हाम्रो यो अभियानलाई सफल बनाई दिनका लागि यहाँहरूले पनि कम्तीमा ती पुराना मुद्दाहरूलाई स्थगित नगरी दिनुस् भन्ने हामीले आग्रह गरेका छौँ । न्याय पालिकाको स्वतन्त्रताको स्वतन्त्रता र स्वायत्तताको सन्दर्भमा हामी सफल उनेछौँ । र, हामी न्याय सम्पादन गर्ने कुरामा पनि सक्षमतापूर्वक बार र बेन्च एक ठाउँमा बसेर न्याय पालिकालाई उचाइमा पुर्‍याउनका लागि एक साथ लागेर हिँडौँ भन्ने यहाँहरूसँग आग्रह गर्न चाहन्छु । त्यसका लागि हामी सदैव तयार छौँ।’

कायममुकायम प्रधानन्यायाधीश कार्कीले न्यायालयको स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोज्नेहरूलाई निस्तेज पार्ने काममा नेपाल बारले खेल्दै आएको भूमिकाको प्रशंसा समेत गरे । न्यायालयको स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजिएको इतिहास स्मरण गराउँदै उनले त्यसलाई जोगाउनका लागि नेपाल बारले खम्बाकोरुपमा काम गरेको बताए ।  





  • प्रकाशित मिति : कात्तिक २६, २०७९ शनिबार ७:५९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया