सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघनको उजुरी परेको छ । गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका मन्त्री कार्कीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।
कार्कीविरुद्ध नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ ले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको हो । जसपा नेतासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका एमाले सुनसरी क्षेत्र नं. ४ निर्वाचन परिचालन कमिटीका संयोजक सरोज पोखरेलले मन्त्री कार्कीविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी दर्ता गराएका छन् ।
सञ्चारमन्त्री कार्कीले प्रहरी प्रशानको दुरुपयोग गरेको, चुनावी प्रचारमा धेरै सवारीसाधन प्रयोग गरेको लगायत आरोपमा उनीविरुद्ध उजुरी परेको हो । पोखरेलले मन्त्री कार्कीले जनप्रतिनिधिहरुलाई चुनावी प्रचारप्रसारमा समेटेको र सञ्चार मन्त्रालय, अर्थ मन्त्रालय मातहतका कर्मचारीहरु समेतलाई चुनावी प्रचारप्रसारमा सामेल गराएकोले उजुरी दिनुपरेको बताए ।
मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले प्रतिनिधिसभा सदस्य उम्मेदवार कार्की र स्थानीय निकायका प्रमुखहरुले आचारसंहिता उल्लंघन गरेको उजुरी प्राप्त भएको तर उजुरीको विस्तृत रुपमा अध्ययन गर्न र अनुसन्धान गर्न भने बाँकी रहेको बताएका छन् ।
उजुरीको विस्तृत रुपमा अध्ययन गर्न बाँकी रहेको भन्दै उनले अध्ययनपछि आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।