logo-img

मन्त्री पौडेलका नजरमा केपी ओलीका चार गल्ती

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बा प्रवृत्तिविरुद्ध गठबन्धन भएको बताएका छन् । मंगलबार गलकोटमा घरदैलो तथा कोण सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी ओली ‘बा’ प्रवृत्तिविरुद्ध पाँचदलीय गठबन्धन भएको बताएका हुन् । 

केपी ओली प्रतिगमनकारी भएको भन्दै पौडेलले भने, ‘संविधान मिच्ने, छोराछोरीले भनेको मात्रै सुन्ने र न्यायलयमाथि हमला गर्ने केपी ओली ‘बा’ प्रवृत्तिविरुद्ध पाँचदलीय गठबन्धन भएको हो ।’

प्रधानमन्त्री ओलीका चार गल्तीले देश दुर्घटनाको बाटोमा गएको उनले आरोप लगाए । ओलीले संविधानको चिरहरण गरी दुई–दुईपटक जनप्रतिनिधिको सर्वोच्च थलो संसद विघटन गर्ने, आफ्नै नेतृत्वको नेकपा फुटाउने, न्यायलयमाथि हस्तक्षेप गर्ने र राष्ट्रपति पदको दुरुपयोग गरी संविधान कुल्चन उक्साउनेलगायत काम गरेको उनको आरोप छ । 

ओलीले न्यायलयमाथि गरेको हस्तक्षेपकारी भूमिकाले न्यायालय अझै गतिमा आउन नसकेको पौडेलले बताए । पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवा लोकतन्त्रप्रति प्रतिबद्ध भएका कारण निर्वाचन समयमै भएको बताए । 

आफू शिक्षामन्त्री भएको बेला जिल्लामा विद्यालयको पूर्वाधार निर्माणका लागि अर्बौं रकम भित्र्याएको उनले बताए । 
‘बागलुङ जिल्लामा विद्यालयका भवनका लागि बजेट हाल्दा विपक्षीले मेरो आलोचना गरे,’ उनले भने, ‘ओली प्रधानमन्त्री हुँदा झापामा टावर हाल्दा उनको आलोचना नहुने मैले विद्यालय भवन निर्माणका लागि बजेट हाल्दा आलोचित हुनुपर्ने ?’

पौडेलले जनताको मौलिकहकसँग सम्बन्धित  ३३ वटा कानुन निर्माण गरेको बताउँदै कार्यान्यन हुने चरणमा रहेको उल्लेख गरे । 
देशमा वामपंथी र लोकतान्त्रिक शक्तिहरु मिलेको सन्दर्भ निकाल्दै देशमा केपी ओली बागीको रुपमा रहेका टिप्पणी गरे । पाँच वर्षको अवधिमा सबैको घर बस्तीमा जान नपाए पनि जनताकै पक्षमा काम गरिरहेको उनले दाबी गरे । 



संविधानसभा सदस्य नरबहादुर पुन निरजले अहिलेको गठबन्धन पाँच वर्षसम्मै रहने बताए । राष्ट्रियता र संविधानको रक्षाका लागि साझा गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने भन्दै उनले टोलटोलबाट लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए । 

मध्यपहाडी लोकमार्गको बागलुङ बिहुँ खण्डको सडक कालोपत्रेमा ढिलाइ भएको बताउँदै उनले आफूहरुको अगुवाइमा चाँडै सडक कालोपत्रे हुने विश्वास व्यक्त गरे । 



गण्डकी प्रदेशसभा सदस्य उम्मेवदार जीतबहादुर शेरचनले देशको व्यापार घाटा ८७ प्रतिशत रहेको बताउँदै लयमा ल्याउन गठबन्धनले अपरिहार्य जित्नुपर्ने तर्क गरे । 

समाजमा जकडिएको प्रवृत्तिको अन्त्यका लागि नेता सच्चिएर काम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले पाँच वर्षको अवधिमा गल्तीकमजोरीलाई अब नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरे । 

राजनीति भनेको गरिबको जीवनस्तर उकास्न गरिने बताउँदै उनले विजयी भएपछि जनताको मतको कदर गर्ने बताए । 
 

  • प्रकाशित मिति : कात्तिक २९, २०७९ मंगलबार १८:३५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया