logo-img

धनुषामा सुरु भयाे मतदान

धनुषाको चार वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य बिहान ७ बजेदेखि सुरू भएको छ ।

मतदान केन्द्रहरूमा मतदाताहरू शान्तिपूर्ण रूपले लामबद्ध भएर बिहान ७ बजेदेखि मतदान गर्न सुरू गरेका छन् । मतदान प्रक्रिया साँझ ५ बजेसम्म जारी रहने छ । 

जिल्लाको ३२२ वटा मतदान स्थलका ६०५ मतदान केन्द्रमार्फत मतदान कार्य सुरू भइसकेको धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था गरिएकोले ढुक्क भएर मतदान गर्न उनले सबै मतदातासँग अपिल गरेका छन् । 

धनुषाका चार निर्वाचन क्षेत्रमध्ये ५०० दशमलव ४९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निर्वाचन क्षेत्र नम्बर–१ मा १५१ मतदान केन्द्रमार्फत ६१ हजार ६३३ पुरुष र ५६ हजार ९९४ महिला गरि कूल १ लाख १८ हजार ६२८ जना मतदाताले आज आ–आफ्नो मताधिकारको प्रयोग गर्न लागेका छन् । 

त्यस्तै, २४७ दशमलव ६३ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निर्वाचन क्षेत्र नम्बर–२ को १६५ मतदान केन्द्रमार्फत ६६ हजार ८१० पुरुष र ५७ हजार ९४४ महिला गरि १ लाख २४ हजार ७५५ मतदाताले मतदान गर्ने भएका छन् । 



१३५ दशमलव ५३ वर्गकिलोमिटर क्षेत्रफलमा अवस्थित धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा १४५ मतदान केन्द्रमार्फत ६२ हजार ८७ पुरुष र ५१ हजार ९१९ महिलासहित कुल १ लाख १४ हजार ९ जनाले आ–आफ्नो मताधिकारको प्रयोग गर्ने मुख्य निर्वाचन अधिकृत प्याकुरेलले जानकारी दिए । 

त्यस्तै, ३०६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको धनुषाको निर्वाचन क्षेत्र नम्बर–४ मा १४४ मतदान केन्द्रमार्फत ६२ हजार ३८५ पुरुष र ५४ हजार ८०८ महिला गरि कुल १ लाख १७ हजार १९५ जना मतदाताले मतदान गर्ने भएका छन् । 



धनुषाका ३२२ मतदानस्थल मध्ये अतिसंवेदनशील १९४ वटा, संवेदनशील १११ वटा र १७ वटा सामान्य मतदान स्थल  छन् । 

प्रतिनिधिसभा तर्फ धनुषाको निर्वाचन क्षेत्र नम्बर–१ मा २५, क्षेत्र नम्बर–२ मा १६, क्षेत्र नम्बर–३ मा ३१ र क्षेत्र नम्बर–४ मा ३१ जना उम्मेदवार छन् भने प्रदेशसभा १ को (क) मा १४, (ख) मा १४ र २ को (क) मा १४ तथा (ख) मा १७ जना उम्मेदवार छन् ।  त्यस्तै, ३ को (क) मा २० र (ख) मा २७ तथा ४ को (क) मा १९ र (ख) मा १३ जना उम्मेदवार छन् । 

धनुषामा निर्वाचनका लागि ४ हजार ८४० कर्मचारी खटिएका छन् । प्रत्येक मतदान केन्द्रमा १ जना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृत, ५ जना सहायक कर्मचारी र १ जना कार्यालय सहयोगी गरि कुल ८ जना कर्मचारी खटिएका छन् । 

निर्वाचन सुरक्षाका लागि धनुषामा ६ हजार सुरक्षाकर्मी परिचालित छन् । जसमा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको छुट्टाछुट्टै टोलि खटिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । उनले जिल्लाभरिमा करिव १ सय भन्दा बढिको संख्यामा मोबाइल गस्ती टोलीसमेत परिचालन गरिएको बताए । 

यस जिल्लामा २ लाख ५२ हजार ९१५ पुरुष, २ लाख २१ हजार ६६५ महिला र अन्य ७ गरी कूल ४ लाख ७४ हजार ५८७ जनाले आ–आफ्नो मताधिकारको प्रयोग गर्न लागेका छन् ।
 

  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार ७:३२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया