मकवानपुरमा गठबन्धनभित्र अन्तर्घातको शंका

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा १० वटा स्थानीय तहमध्ये २ वटा गाउँपालिका मात्रै आफ्नो पोल्टामा पारेको थियो । नेकपा एमाले मकवानपुरले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा भने जिल्लाको ६ सिट मध्ये ४ सिटमा विजयी हुने पछिल्लो मत परिणामको आधारमा आकलन गर्न सकिन्छ । दुई वटा प्रतिनिधि सभा तथा ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा पाँच दलीय गठबन्धन भर्सेस नेकपा एमालेको भिडन्त निरन्तर छ । 

पछिल्लो मत परिणाम अनुसार प्रतिनिधि सभा क्षेत्र १ मा गठबन्धनकी महालक्ष्मी उपाध्याय डिना, क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश कुमार बर्तौलाले अग्रता जमाइरहेका छन् । त्यस्तै प्रदेश सभा क्षेत्र १ को (क) मा प्रेमबहादुर पुलामी, क्षेत्र १ को (ख) मा एकलाल श्रेष्ठ, प्रदेश सभा क्षेत्र २ को (क) मा गठबन्धनकी कुमारी मोक्तान र २ को (ख) मा गठबन्धनका इन्द्रबहादुर बानियाँ अग्रतामा छन् । मतगणनाको प्रारम्भ देखि प्रदेशको १ सिट र प्रतिनिधिसभाको १ सिटमा अग्रतामा रहेका एमाले उम्मेदवारहरूको मतान्तर १ हजार भन्दा बढीको छ । 

तर गठबन्धनका उम्मेदवारहरू जो अगाडि रहेका छन् उनीहरू मध्ये प्रतिनिधि सभाकी उपाध्याय र प्रदेशसभाका बानियाँ र पुलामीको मतान्तर बढी छ भने कुमारी मोक्तानलाई एमालेका उम्मेदवार विष्णु ढकालसँगको मतान्तर बढाउन हम्मे हम्मे परिरहेको छ । ढकालले १२ हजार ५ सय ४० मत ल्याउँदा गठबन्धनकी मोक्तान बुधबार बिहानबाट अघि लाग्दै १३ हजार ३० मत प्राप्त गरेकी छिन् । उनीहरूको ५ सय १० मात्रैको मतान्तर छ । 

अन्तर्घातको शंका
मकवानपुरमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरू माथि अन्तर्घात भएको चर्चा परिचर्चा सुरु भएको छ । जम्मा खसेको मत १ लाख ७८ हजार १ सय ३८ मत मध्ये ५० प्रतिशत मतगणना सकिँदै गर्दा गठबन्धनभित्रै अन्तर्घात भएको चर्चा पनि सुरु भएको हो । 

गत स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने पनि मकवानपुरका ८ वटा स्थानीय तह र धेरै वडाहरु गठबन्धनको हातमा पर्न सफल भएको थियो । भीम फेदी गाउँपालिकाको अध्यक्ष र केही वडा तथा इन्द्र सरोवर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष सहित २ वडा आफ्नो पोल्टा पारेको थियो ।

हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर सहित ८ वटा स्थानीय तहमा विजयी भएको गठबन्धन प्रदेश र प्रतिनिधिसभामा सोचे जसरी मत ल्याउन नसक्नु नै अन्तर्घात भएको आकलन भएको मान्न सकिन्छ । यता गठबन्धनका उम्मेदवारहरूको मतान्तर बढाउन नसक्नुले एक्लिएको एमालेलाई फाइदा पुग्ने देखिएको छ । यद्यपि, मतगणना भने बाँकी नै रहेको छ ।  





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार ११:४६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया