logo-img

ओलीको अभिव्यक्तिपछि चिडिए माधव नेपाल, भन्छन्- ‘गठबन्धन जुनसुकै बेला टुट्न सक्छ’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिक परिस्थिति सहज नभएको बताएका छन् । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले छोटो समयभित्र गठबन्धन जुट्ने र फुट्ने क्रम भइरहेको भन्दै यस्तो परिस्थितिमा सहज अनुभव नभएको बताए ।

उनले भने, ‘नेपालको राजनीतिक जटिल छ । छोटो समयभित्र गठबन्धन जुट्ने र फुट्ने गरेको छ । कति दिनसम्म यो गठबन्धन टिक्ने हो ? त्यसको सबै जवाफ हाम्रो प्रधानमन्त्रीले दिनुहुन्छ, मैले दिन सक्दिनँ । यति भनौँ परिस्थिति सहज छैन । हामीले सहज ठानिरहेका छैनौँ । कसैका धाकधम्की, कसैका गालीगलौज सुन्न हामी राजनीतिमा लागेका होइनौँ । समाजमा जन्मेका पनि होइनौ । कसैको दास बन्ने हाम्रो नियत पनि होइन ।’ 

यस्तै, उनले देशभक्ति र कम्युनिस्ट आन्दोलनको आवश्यकता अझै भएको भन्दै परिवर्तनको संवाहक जनता हो भन्ने सन्देश प्रवाह नभएसम्म परिवर्तन सम्भव नभएको बताए । 

उनले भने, ‘हामी देशभक्ति आन्दोलनलाई अगाडि बढाउन चाहन्छौ र त्यसको आवश्यकता अझै पनि छ । कम्युनिस्ट आन्दोलनले जनताको माझमा लोकतन्त्रको आवाज बुलन्द गर्नुपर्छ । निरङ्कुश शासनको विरुद्धमा, जनताको पक्षमा, जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउने कुरामा जनताको अधिकारको आवाज बुलन्द गर्ने काम पनि कम्युनिस्ट आन्दोलनकै हो । लोकतन्त्रको संवाहक पनि कम्युनिस्ट पार्टी नै हुन् । जनताका जनजीविकाको सवालमा जनताको पक्षमा हामी लाग्नुपर्छ । परिवर्तनको संवाहक जनता हो भन्ने सन्देश प्रवाह गर्न नसकेसम्म परिवर्तन सम्भव हुँदैन ।’

नेपालको राष्ट्रियताको नाममा, राष्ट्रियताको प्रवर्द्धन गर्ने नाममा पुराना पुस्ताका नेता र कम्युनिस्ट पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको पनि उनको भनाइ छ । 

पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका विषयमा आलोचना गर्दै आएका थिए । ओलीले नेपालले दक्षिणपन्थी चरित्र देखाएको र गठबन्धनको नाममा हैसियतभन्दा बढी नै माग्न थालेको टिप्पणी गरेका थिए । ओलीको उक्त अभिव्यक्तिपछि नेपालले पनि जवाफ फर्काउन थालेका हुन् । 





  • प्रकाशित मिति : वैशाख १०, २०८१ साेमबार ११:५०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया