महोत्तरी - ३ मा महन्थ ठाकुरले मतान्तर घटाए, अन्य क्षेत्रमा को छन् अगाडि ?
फाइल तस्बिर

महोत्तरीको निर्वाचन क्षेत्र नम्बर–३ मा लोसपा अध्यक्ष महन्थ ठाकुरलाई स्वतन्त्र उम्मेदवारले पछाडि पारेका छन् । पछिल्लो मतपरिणामाअनुसार त्यहाँ लोसपाका अध्यक्ष महन्थ ठाकुरले ५ हजार १३५ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार रामआधार कापरले ५ हजार २१७ मत पाएका छन् ।

त्यस्तै, जसपाका उम्मेदवार हरिनारायण यादव ४ हजार ४२३ मतसहित तेस्रो स्थानमा रहेका छन् भने तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले ६१७ मत मात्र ल्याउन सकेका छन् । 
प्रदेशसभातर्फ महोत्तरी–३ को (क)मा जसपाका दीपेन्द्र झाले ६ हजार ३१८ मत प्राप्त गरि अग्रस्थानमा रहेका छन् भने लोसपाका अभिराम शर्मा ५ हजार ९९३ मतसहित उनलाई पछ्याइरहेका छन् ।

३ को (ख)मा स्वतन्त्र उम्मेदवार उज्ज्वल झा ३ हजार ४७१ मत प्राप्त गरि अग्रस्थानमा रहेका छन् । उनलाई लोसपाकी रानी शर्मा तिवारीले २ हजार ९२१ मत ल्याएर पछ्याइरहेकी छन् । त्यस्तै, नेकपा एमालेका रामदयाल मण्डलले पनि २ हजार १०९ मत पाएका छन् ।

महोत्तरीको निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतोले ६ हजार ३६७ मत प्राप्त गरि अग्रस्थानमा रहेका छन् भने उनलाई नेकपा माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेलले ५ हजार ५५४ मतसहित पछ्याइरहेका छन् । 

प्रदेशसभातर्फ महोत्तरी क्षेत्र नम्बर–१ (क) को मतगणना अझै सुरु हुन सकेको छैन् । उता, क्षेत्र नम्बर–१ (ख)को पछिल्लो मतपरिणामअनुसार माओवादी केन्द्रका उम्मेदवार रहेका मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साह ३ हजार ६२१ मत प्राप्त गरेर अग्रता कायम गरेका छन् भने जसपाका राम श्रेष्ठ महतो ३ हजार २५ मत प्राप्त गरेर उनलाई पछ्याइरहेका छन् । त्यस्तै, जनमत पार्टीका विक्रम साह तेलीले १ हजार ७०३ मत पाएका छन् । 

प्रतिनिधिसभातर्फ महोत्तरीको निर्वाचन क्षेत्र नम्बर–२ मा लोसपाका बरिष्ठ नेता शरत सिंह भण्डारी ६ हजार ४१८ मतसहित अग्रस्थानमा रहेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार डा. रामपरीक्षण यादवले ३ हजार २३ मतसहित पछ्याइरहेका छन् । त्यस्तै, तमलोपाका डा. विजय कुमार सिंहले २ हजार ७५६ मत पाएका छन् । 



प्रदेशसभातर्फ महोत्तरी–२ को (क) मा लोसपाका जयनुल राइन २ हजार ५९ मतसहित अग्रता कायम गरेका छन् भने उनलाई नेकपा एसकी मञ्जु कुमारी यादव १ हजार ३२५ मत ल्याएर पछ्याइरहेकी छन् । त्यस्तै, जनमत पार्टीका उम्मेदवार संजय कुमार साहले ७६८ मत ल्याउँदा जसपाका धमेन्द्र कुमार साहले ५३७ मत पाएका छन् । 

महोत्तरी–२ को (ख)मा स्वतन्त्र उम्मेदवार सुरिता साह ३ हजार ३६३ मतसहित अग्रस्थानमा रहँदा नेपाली कांग्रेसका नागेश्वर यादवले २ हजार ७३४ मत पाएका छन् । त्यस्तै, नेकपा एमालेका लक्ष्मी नारायण भगतले १ हजार ७४ मत ल्याउँदा जनमतका कोमल यादवले १ हजार ३०१ मत पाएका छन् । 



त्यस्तै, महोत्तरीको निर्वाचन क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका महेन्द्र कुमार रायले ५ हजार २७२ मत प्राप्त गरि अग्रता कायम राखेका छन् । रायलाई जसपाका उम्मेदवार पूर्वस्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र कुमार यादवले २ हजार ७४९ मत प्राप्त गरि पछ्याइरहेका छन् भने जनमत पार्टीका उम्मेदवार मनोज कुमार साहले १ हजार ७४७ मत ल्याएका छन् । 

प्रदेशसभातर्फ महोत्तरी–४ को (क) मा नेकपा एमालेका सरोज कुमार यादव ५ हजार ५० मतसहित अग्रस्थानमा रहेका छन् भने उनलाई लोसपाका कौशल कुमार यादवले ३ हजार ४६९ मत प्राप्त गरि पछ्याइरहेका छन् । त्यस्तै, जनमत पार्टीका उम्मेदवार रामस्नेही यादवले २ हजार ८५५ मत मात्र ल्याउन सकेका छन् । 

महोत्तरी–४ को (ख) मा माओवादी केन्द्रका लालेन्द्र कुमार मण्डल ३ हजार ८७ मत ल्याएर अग्रता कायम गरेका छन् भने उनलाई जसपाका उम्मेदवार सरोज कुमार सिंहले २ हजार ८१४ मत प्राप्त गरि पछ्याइरहेका छन् । महोत्तरीको प्रतिनिधिसभातर्फ चार क्षेत्रमध्ये एकमा एमाले, एकमा लोसपा, एकमा स्वतन्त्र र एकमा कांग्रेसका उम्मेदवार अगाडि रहेका छन् । 

  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १४:३१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया