राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले दिएको चिठीबारे आफूलाई थाहा नभएको बताएका छन् ।
फरकधारसँग कुराकानी गर्दै तिमिल्सिनाले यो विषय आफ्नो सरोकारको विषय नभएको र प्रतिनिधि सभाको विषय भएकाले आफूलाई यसबारे केही थाहा नभएको बताएका हुन् ।
‘संसद सचिवालयले गरेको काम वा निर्णय प्रशासनिक काम हो, मलाई यसबारे सोधिने विषय नै होइन,’ फरकधारसँगको कुराकानीमा उनले भने, ‘मैले यसबारे कुनै निर्देशन दिएको छैन न त यसबारे केही बुझेको नै छु ।’
उनले प्रतिनिधि सभाको विषय भएकाले राष्ट्रिय सभा अध्यक्षका रुपमा आफ्नो काममा नपर्ने भएकाले यसबारे कुनै चासो नदिएको पनि बताए ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार संघीय संसद सचिवालयमा आफूमाथि लागेको महाअभियोग निस्क्रिय भएको भन्दै यसबारे जवाफ दिन निवेदन दिएका थिए ।
त्यही पत्रका आधारमा संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले उनको महाअभियोग निस्क्रिय भएको पत्र चोलेन्द्रशम्शेर जबरालाई दिएका थिए ।
जबराले पत्र पाएपछि आजै सर्वोच्च अदालत जाने तयारी गरेका थिए । तर, यो पत्र असंवैधानिक भन्दै कानुन व्यवसायीहरु सर्वोच्च अदालत परिसरमा नै धर्नामा बसेका छन् । नेपाल बार एशोसिएसनको आकस्मिक बैठकले चोलेन्द्रलाई सर्वोच्च अदालत छिर्न नदिने निर्णय गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।