logo-img

आइपिएल ओरेन्ज क्याप दौड : शीर्षमा विराट कोहली, अन्यको स्थान कहाँ ?
तेस्रोमा उक्लिए ऋषभ पन्त

इण्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को ४० खेलको समाप्तिमा सर्वाधिक रनकर्ताको सूची अर्थात् ओरेन्ज क्याप दौडमा भारतीय खेलाडीको दबदबा देखिएको छ । अहिलेसम्म यो सूचीको शीर्ष पाँचभित्र एक मात्र विदेशी खेलाडी छन् ।

लिगको आधा सिजन सकिँदा ओरेन्ज क्यापको रेसमा रोयल च्यालेन्जर्स बेंगलुरु अर्थात् आरसिबीका पूर्वकप्तान विराट कोहली शीर्ष स्थानमा छन् । आरसिबी अंक तालिकाको पुछारमा रहे पनि विराटको ब्याट भने जारी सिजनमा पनि चलिरहेको छ ।

उनले ८ खेल खेल्दा १५०.३९ को स्ट्राइक रेटमा सर्वाधिक ३ सय ७९ रन बनाएका छन्, त्यक्रममा विराटले दुई अर्धशतक र एक शतक हिर्काएका छन् ।​ ओरेन्ज क्याप अवार्ड दौडको दोस्रो स्थानमा चेन्नई सुपर किंग्सका कप्तान रुतुराज गायकवाड रहेका छन् ।

उनले जारी सिजनको ८ खेल खेल्दा १४२.४४ को स्ट्राइक रेटमा ३ सय ४९ रन बनाएका छन्, त्यसक्रममा गायकवाडले पनि दुई अर्धशतक र एक शतकीय इनिङ खेलेका छन् । उनी नेतृत्वको चेन्नई अहिले तालिकाको पाँचौं स्थानमा छ ।



१७औँ सिजनको आइपिएलमा सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्त तेस्रो स्थानमा उक्लिएका छन् । बुधबार राति सम्पन्न खेलमा गुजरात टाइटन्सविरुद्ध ८८ रनको इनिङ खेलेसँगै उनी यो सूचीको तेस्रो स्थानमा उक्लिएका हुन् ।

पन्तले जारी संस्करणको ९ म्याच खेल्दा १६१.३२ को स्ट्राइक रेटमा ३ सय ४२ रन बनाएका छन्, त्यसक्रममा उनले तीन अर्धशतकीय पारी खेलेका छन् । पन्तकै उत्कृष्ट प्रदर्शनमा दिल्ली पछिल्लो समय लयमा देखिएको छ । उसले ९ म्याच खेल्दा चारमा जित र पाँच खेलमा हार बेहोरेको छ ।



सन् २०२२ को डिसेम्बरमा भयानक कार दुर्घटनाका कारण लामो समय क्रिकेट बाहिर रहेका पन्तले जारी आइपिएलमार्फत पुनरागमन गरेका हुन् । र, उनी आफ्नो कमब्याक स्मरणयोग्य बनाउन पूरा कोसिस गरिरहेका छन् । 

यस्तै, गुजरातमा आबद्ध साई सुदर्शनले पनि यसपटकको आइपिएलमा राम्रो प्रदर्शन गरिरहेका छन् । उनले ९ खेल खेल्दा १२८.९५ को स्ट्राइक रेटमा ३ सय ३४ रन बनाएका छन्, त्यसक्रममा सुदर्शनले एक अर्धशतकीय पारी खेलेका छन् । उनीसम्मिलित गुजरात अहिले तालिकाको सातौं स्थानमा छ ।  

आइपिएल २०२४ मा सर्वाधिक रन बनाउने सूचीको पाँचौं स्थानमा सनराइजर्स हैदराबादमा आबद्ध अस्ट्रेलियन स्टार ट्रभिस हेड रहेका छन् । उनले जारी सिजनको ६ खेल खेल्दा २१६ को सानदार स्ट्राइक रेटमा ३ सय २४ रन बनाएका छन्, त्यसक्रममा हेडले दुई अर्धशतक र एक शतक हिर्काएका छन् ।

उनकै विस्फोटक ब्याटिङको मद्दतमा हैदराबादले कीर्तिमानी प्रदर्शन गरिरहेको छ । उसले जारी संस्करणको सात खेल खेल्दा पाँचमा जित र दुई खेलमा मात्र हारको सामना गरेको छ । हैदराबाद अहिले १० अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । 

  • प्रकाशित मिति : वैशाख १३, २०८१ बिहीबार १४:४०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया