प्रधानमन्त्री देउवा भन्छन् - स्थानीय तहले जनउत्तरदायी लोकतान्त्रिक अभ्यासलाई सबलीकरण गरेको छ
फाइल तस्बिर

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहमा नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेसँगै यसले मुलुकमा जनउत्तरदायी लोकतान्त्रिक अभ्यासलाई थप सबलीकरण गरेको बताएका छन् ।

गाउँपालिका राष्ट्रिय महासङ्घको तेस्रो महाधिवेशनको उद्घाटन समारोहमा आज उनले अबको प्राथमिकता सङ्घीयता र लोकतन्त्रको आधारस्तम्भका रूपमा रहेको स्थानीय सरकारको सबलीकरण गरी नागरिकमा सुशासन र विकासको अनुभूति गराउने हुनुपर्नेमा जोड दिए ।

स्थानीय तहले संरचनात्मक सुधार, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नवीन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्वबीचको सन्तुलन, सेवाग्राही केन्द्रित योजना, विकेन्द्रीकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति जस्ता सुधारका विधि अवलम्बन गरी अगाडि बढेमा सुशासनलाई स्थानीय तहमा संस्थागत गर्न सहयोग पुग्ने उनको भनाइ थियो । 

उनले सेवा प्रवाहसम्बन्धी कानुन, कार्यविधि, मापदण्ड निर्माण गरी जारी गर्ने र सोहीबमोजिम नागरिक बडापत्र कार्यान्वयनमा ल्याउने, सेवाग्राही र सेवा प्रदायक निकायबीच सुमधुरसम्बन्ध विकास गरे संस्थागत सुशासनमा ठोस योगदान पुग्ने विश्वास व्यक्त गरे ।

महासङ्घ नेपालभरिका चार सय ६० गाउँपालिकाको छाता सङ्गठन हो । तीन दिनसम्म चल्ने महासङ्घको महाधिवेशन प्रतिनिधिका रुपमा देशभरिका गाउँपालिकाबाट निर्वाचित अध्यक्ष, उपाध्यक्ष र हरेक जिल्लाबाट एक जना वडाअध्यक्ष वा सदस्य रहने व्यवस्था छ । महाधिवेशनबाट पाँच वर्षका लागि ३७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित हुने व्यवस्था छ । 





  • प्रकाशित मिति : मंसिर २५, २०७९ आइतबार १५:१५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया