राजनीतिक दलहरूले समानुपातिक सांसद सिफारिस भएकाहरूको नाम सच्याएर फेरि आज निर्वाचन आयोगमा सूची पठाउँदै छन् । समानुपातिक उम्मेदवारको विवरणमा त्रुटी देखिएपछि दलहरूले पुनः सच्याएर नयाँ नामावली आयोगमा पठाउन लागेका हुन् ।
निर्वाचन आयोगले आइतबार दलहरूलाई पत्राचार गरेर समावेशी समूहअनुसार सच्याएर पठाउन सोमबार अपरान्ह ४ बजेसम्मको समय दिएको छ । आयोगका अनुसार दलहरूले आयोगमा पठाएको नाममा समावेशी समूहबाट उपयुक्त प्रतिनिधित्व नगराएको, कतिपय दलले प्राप्त स्थानभन्दा बढी स्थानमा सिफारिस गरेको भेटिएको छ ।
आज दलहरूले बन्दसूची सच्याएपछि बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको परिणाम बुझाउने आयोगको तयारी छ ।
आयोगबाट निर्वाचन परिणाम औपचारिकरूपमा प्राप्त भएपछि मात्र राष्ट्रपति कार्यालयले नयाँ सरकारको गठन प्रक्रिया सुरु गर्छ । अहिलेको अवस्थालाई हेर्ने हो भने यही साताभित्र सरकार गठनको प्रक्रिया अगाडि बढ्ने देखिन्छ ।
४ मंसिरमा भएको निर्वाचनमा कुनै पनि दलले बहुमत ल्याउन सकेका छैनन् । यस्तो अवस्थामा केन्द्र र प्रदेशमा दुई वा दुईभन्दा बढी दल मिलेरै सरकार गठन गर्नुपर्ने समीकरण बनेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।