गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता खगराज अधिकारी बन्ने निश्चित भएको छ । सत्ता समीकरणमा बदलाव आएसँगै अधिकारी मुख्यमन्त्री बन्ने पक्का भएको हो ।
२७ सिट जितेर प्रदेशमा पहिलो शक्ति बनेको नेपाली कांग्रेस एकाएक प्रतिपक्षमा पुगेको छ । प्रदेशसभाको दोस्रो ठूलो दल एमालेसँग २२ सांसद छन् । सो प्रदेशमा अधिकारी एमालेको संसदीय दलको नेता हुन् ।
गण्डकी प्रदेशसभाका कूल ६० सदस्यमध्ये सरकार गठनका लागि बहुमत संख्या ३१ चाहिन्छ, जुन नयाँ गठबन्धनसँग छ। माओवादी केन्द्रको आठ र राप्रपाको दुई सदस्य गरी गठबन्धनसँग ३२ सिट पुग्छ ।
भर्खरै एकीकृत समाजवादीमा प्रवेश गरेका दीपक मनाङेको पनि समर्थन लिन सके एक सिट थपिएर गठबन्धनको सिट सदस्य संख्या ३३ पुग्छ।
गठबन्धनका मुख्य दुई घटक एमाले र माओवादी केन्द्र दुवैले सरकारको नेतृत्वमा दाबी गरिरहेका छन्। यद्यपि, माओवादीले प्रदेश १ र सुदूरपश्चिममा मुख्यमन्त्री लिने सहमति भएको छ । जसखनुसार गण्डकी प्रदेश एमलेको भागमा पर्छ ।
एमालेका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य गोविन्दबहादुर नेपालीले गण्डकी प्रदेश सरकार एमालेकै नेतृत्वमा बन्ने दाबी गरेका छन् । एमालेको नेतृत्वमा सरकार बन्ने र खगराज अधिकारी मुख्यमन्त्री बन्नेमा ढुक्क रहेको उनले बताए ।
माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर चुमानले पनि मुख्यमन्त्रीमा दाबी गरेका छन् । मुख्यमन्त्रीमा आलापालो हुने भन्दै प्रदेशसभा सदस्य चुमानले पहिला माओवादीलाई दिनुपर्ने बताए। यद्यपि, उनले केन्द्रको निर्देशन र सर्कुलरअनुसार अघि बढ्ने बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।