पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ खुसार्नेमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । रूपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्नेका लागि छुटेको बस गएराति १० बजेतिर राधादी गैरा भन्ने ठाउँमा दुर्घटना भएको हो ।
ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुसार्ने गाउँका ६ जना महिलाको मृत्यु भएको वडा नम्बर ८ का वडाध्यक्ष रेमबहादुर रानाले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा खुसार्ने गाउँका मृतकहरुमा ५४ वर्षीया खिमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे, २१ वर्षीया दानकुमारी खत्री, ४५ वर्षीया गुनी गाहा र १९ वर्षीया विमा पाण्डे रहेका छन् ।
तीन जनाको शव दुर्घटनास्थलबाट बाहिर निकालिएको र तीनजना बसले च्यापेको अवस्थामा रहेका प्रहरीले जनाएको छ । पाल्पा र रूपन्देहीका प्रहरी तथा स्थानीय बासिन्दाले उद्धार कार्य जारी राखेका स्थानीय प्रहरी चौकी जुठापौवाका वरिष्ठ हवल्दार लिलाबहादुर केसीले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका अन्य १८ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । दुर्घटनापछि बसका धनी र सहचालक फरार छन् । घटनास्थल रूपन्देहीको सालझण्डीदेखि झण्डै १० किलोमिटरको दूरीमा पर्दछ ।
बसको स्टेयरिङ वा ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।