logo-img

पूर्वराजा शाहले भने - राज्य पद्धति र प्रणाली पुनरावलोकन हुनु आवश्यक
फाइल तस्बिर

पूर्वराजा ज्ञानेन्द्र शाहले राज्य पद्धति र प्रणाली सही प्रकारले पुनरावलोकन हुनु आवश्यक रहेको औंल्याएका छन् । बुधबार​ ३०१औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।

शाहले  अहिलेको राजनीति विचार, आदर्श र सैद्धान्तिक निष्ठाभन्दा अंक तथा आकार प्रकारमा अलमलिएको पनि उल्लेख गरेका छन् । 

‘सेवा र सुरक्षा दिन नसक्ने प्रजातन्त्रको जुनसुकै नाम र आवरणमा अभ्यास गरे पनि यसबाट राष्ट्रमा सुख हुन सक्ने छैन । विचार, आदर्श र सैद्धान्तिक निष्ठाभन्दा अंक तथा आकार प्रकारमा हाम्रो राजनीति अलमलिएको छ । त्यसैले राज्य पद्धति र प्रणाली सहि प्रकारले पुनरावलोकन हुनु आवश्यक देखिन्छ,’ शाहले सन्देशमा भनेका छन् ।   

उनले राष्ट्रिय एकता दिवसको सान्दर्भिकता थप बढेको पनि बताएका छन् । उनले पृथ्वी नारायण शाहका दिव्योपदेशलाई अनुसरण गर्नसके मात्र इतिहास र भविष्य तथा नेपालीको स्वाभिमान सुरक्षित एवं संरक्षित हुनसक्ने विश्वास पनि व्यक्त गरेका छन् ।  

‘नेपालमा एकता, अखण्डता, सामाजिक सद्भाव र सार्वभौमिक सर्वोच्चता दुर्लभ हुँदै गएको यो समयमा राष्ट्रिय एकता दिवसको सान्दर्भिकता थप बढेको छ । हामीले श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहका दिव्योपदेशहरूलाई आत्मसाथ गर्दै मौशुफले दर्शाइबक्सेको मार्ग दर्शनलाई अनुसरण गर्न सकेमा मात्र हाम्रो इतिहास र भविष्य तथा नेपालीको स्वाभिमान सुरक्षित एवं संरक्षित हुन सक्छ भन्ने विश्वास लिएका छौँ,’ नेपालका अन्तिम राजा शाहले सन्देशमा भनेका छन् ।  

उनले वर्तमान अवस्थामा नेपाली धेरै नै पराङमुखी, परनिर्भर र परावलम्बी हुँदै गएकोमा चिन्ता पनि व्यक्त गरेका छन् । ‘राष्ट्रको माटो, प्रकृति र आफ्नो प्रकारको प्रगति हाम्रा निम्ति प्रिय हुनुपर्छ, हामी चाहन्छौँ– देश आफ्नै बाहुबलमा अघि बढोस्, राष्ट्र आफ्नै मौलिक मान्यतामा अघि बढोस्, सबै यत्न–प्रयत्न गतिविधि आफ्नै शैली र ढाँचा तथा प्रक्रियाबाट अघि बढोस्,’ शाहले भनेका छन् ।  



उनले राष्ट्रिय अवधारणा, अनुभूति र चासो चिन्ताका विषय सुन्न, बुझ्न आफू सदैव तत्पर रहेको पनि उल्लेख गरेका छन् । 



 

  • प्रकाशित मिति : पुस २७, २०७९ बुधबार ९:२१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया