कृष्णपुर नगरपालिकामा ‘नागरिकसँग मेयर कार्यक्रम’ सुरु

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ‘नागरिकसँग मेयर’ सुरु गरिएको छ । मंगलबार नगरप्रमुख हेमराज ओझाले वडा नम्बर ५ को पवित्रा वस्तीबाट तथा आठवटा वडाध्यक्षले सम्बन्धित वडाबाट एकसाथ कार्यक्रम सुरु गरेका हुन् ।

नगरप्रमुख ओझाले नगरपालिकामा बसोवास गर्ने प्रत्येक नागरिकको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यकर्मीको टोलीसहित घरदैलोमा पुग्न यो कार्यक्रम सुरु गरिएको बताए । उनले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेर काम गर्ने योजना अनुरूप नै यो कार्यक्रम सुरु गरिएकाले नागरिकले यसको फाइदा लिन सक्नुपर्ने बताए ।

‘विकास निर्माणका कामहरू शिलशिलाबद्ध रूपमा अगाडि बढ्दै जान्छन्, केही दिन ढिला पनि खासै फरक पर्दैन । तर, नागरिकको स्वास्थ्य गम्भीर विषय भएकोले मेरो कार्यकालभरी पहिलो प्राथमिकता स्वास्थ्यले नै पाउनेछ,’ मेयर ओझाले भने, ‘सुरुवातमा स्वास्थ्यकर्मीको टोलीले नौवटा वडाका प्रत्येक नागरिकका घर  घरमा पुगेर रक्तचाप (ब्लड प्रेसर) चेकजाँच गर्नुहुन्छ, नागरिकको थप स्वास्थ्य अवस्था बुझ्नुहुन्छ त्यसपछि त्यसबाट के रिपोर्ट निस्किन्छ, क–कसलाई सामान्य र जटिल समस्या छ त्यसका आधारमा वृहत् योजनाका साथ दोस्रो चरणमा स्वास्थ्य शिविर सञ्चालनमा ल्याइनेछ ।’ 

नगरप्रमुख ओझाले धनगढी रक्त सञ्चार केन्द्रसँग समन्वय गर्दै नगरवासीलाई रगत आवश्यक परे परिचय खुल्ने कागज उपलब्ध गराएर निःशुल्क रगत पाउने व्यवस्थासमेत मिलाएको बताए ।

दक्ष जनशक्तिसहितको स्वास्थ्यकर्मीको टोली प्रत्येक नागरिकको घर घरमा पुग्ने भएकोले यो कार्यक्रम नगरबासीका लागि फलदायी हुने कृष्णपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रतन सिंह विष्टले बताए । 



सुरुवातमा ‘नागरिकसँग मेयर कार्यक्रम’ का लागि  १५ दिन छुट्याइए पनि पछि आवश्यकताअनुसार समय बढाउन सकिने उनले बताए । हाल कृष्णपुर नगरपालिका–५ मा रहेको कृष्णपुर स्वास्थ्य चौकी चिकित्सकसहित २४सैं घण्टा सञ्चालनमा रहेको छ ।



त्यसैगरी नगरपालिकाले सुत्केरी महिला, जेष्ठ नागरिक, शारीरिकरूपमा अशक्त नागरिक र आर्थिक हिसाबमा कमजोर बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा दिँदै आएको छ ।  

  • प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार १९:३६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया