विमान दुर्घटनापछि घटे हवाई यात्रु
फाइल तस्बिर

यही माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाको प्रभाव चितवनमा पनि परेको छ । पोखरामा जहाज दुर्घटना भएसँगै हवाई यात्रा गर्नेको संख्या घटेको हो । 

भरतपुर नागरिक उड्डयन कार्यालयका अनुसार माघ १ देखि भरतपुरबाट काठमाडौं जाने र आउनेको संख्या घट्दै गएको हो । कार्यालयका निमित्त प्रमुख दीपक विकेका अनुसार पुस २८ मा दुई सय ६० जना, पुस २९ मा तीन सय २५ जना, पुस ३० मा दुई सय ६० जना भरतपुरबाट हवाई मार्ग हुँदै काठमाडौं गएका थिए । माघ १ मा खराब मौसमका कारण उडान हुन सकेको थिएन । 

पोखरामा विमान दुर्घटना भएपछि माघ २ मा एक सय ९९ जना, माघ ३ मा एक सय ६८ जना र माघ ४ मा एक सय ८७ जनाले हवाई यात्रा गरेका छन् । भरतपुर–काठमाडौं रुटका साथै काठमाडौं–भरतपुर रुटमा पनि हवाई यात्रुको संख्या घटेको छ । कार्यालयका अनुसार पुस २८ मा तीन सय २१ जना, पुस २९ मा तीन सय १९ जना र पुस ३० गते तीन सय १३ जना यात्रु काठमाडौंबाट भरतपुर आएका थिए । यस्तै माघ २ मा एक सय ३८ जना, माघ ३ मा एक सय ८२ जना र माघ ४ मा दुई सय सात जना हवाई मार्ग हुँदै काठमाडौंबाट चितवन आएका छन् ।  
 
अहिले भरतपुर विमानस्थलबाट दैनिक ८ देखि १० वटा उडान हुँदै आएको छ । जस अन्तर्गत गुण एयरलाइन्सले काठमाडौं–भरतपुर–काठमाडौं र बुध्द एयरले भरतपुर–पोखरा–भरतपुर रुटमा दैनिक एक उडान र काठमाडौं–भरतपुर–काठमाडौं रुटमा दैनिक आठ वटा उडान गर्दै आएको छ । 

विकेले भरतपुर विमानस्थलमा हवाई सुरक्षामा कुनै खतरा नभएको भए पनि यात्रुमा मानसिक प्रभाव परेको हुनसक्ने बताए । विमानस्थल आसपासमा रहेका भौतिक संरचना विमानस्थल अनुसारको मापदण्ड अनुसार नबनेकाले  केही समस्या भएको उनले बताए । 





  • प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार १६:७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया