बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ ।

पदीय मर्यादा विपरीत कार्य गरेको भन्ने उजुरीका आधारमा अख्तियारले अनुसन्धान गरी दाेषी पाइएपछि अख्तियारले उनीमाथि मुद्दा दायर गरेको हाे । 

डा. गिरीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको उपकुलपतिमा नियुक्ति भइसकेपछि प्रोफेसर पद प्रयोग गरेको देखिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ । उनले कुनै पनि आधिकारिक निकायबाट साे पदवी प्राप्त नगरेको तर अरूले विश्वास गरोस् भनी बदनियतसाथ प्राेफेसर पद प्रयाेग गरेकाे अख्तियारले जनाएकाे छ ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर भएकोले निज ज्ञानेन्द्र गिरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुरमा सोही ऐनको दफा १५ बमोजिम सजाय हुन र सोही ऐनको दफा २४ बमोजिमको थप सजाय समेतको मागदाबी गरिएको छ । 

डा. गिरीलाई प्रोफसर पदको अनुमोदनका लागि डा. ज्ञानेन्द्रमान सिंह कार्कीले मतियारको भूमिका खेलेको भन्दै उनीमाथि समेत कारबाही माग गरिएको छ । उनले काठमाडौं विश्वविद्यालयमा सिफारिस गर्नसम्म सक्नेमा निजले नियुक्ति नै दिएका थिए । 

प्रतिष्ठानको उपकुलपति नियुक्त भएर कार्यरत डा. गिरीले आफ्नो नामको अगाडि प्राध्यापक गराउँदै आएका थिए । उनले आफूले विराटनगरको विराट मेडिकल कलेजको इन्टरनल मेडिसिन डिपार्टमेन्टको प्रमुख र प्राध्यापकको रूपमा काम गरेको बताउँदै आएका थिए । 



उनको प्राध्यापक पद नक्कली भएको भन्दै लामो समय प्रतिष्ठानमा आन्दोलन भएको थियो । आन्दोलनपछि स्वास्थ्य मन्त्रालयले उनको विषयमा अनुसन्धान गरेको थियो । सोही आधारमा उनी प्राध्यापक नरहेको प्रष्ट पारेको थियो । 



  • प्रकाशित मिति : माघ ९, २०७९ साेमबार १८:२०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया